बिर्तामोड । राजवंशी समाज विकास समिती जिल्ला कार्यसमिति झापाको मुख्य आयोजना तथा राजवंशी समाज विकास समिती बिर्तामोड नगर कार्यसमितिको सह–आयोजनामा राजवंशी समुदायका विश्व महावीर वीर पुरुष चिल्हारायर (सुक्लध्वज) को ५१४ औं जलमदिवस मनाइएको छ । 

राजवंशी समाज विकास समिती जिल्ला कार्यसमिति झापाका  अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षता तथा  बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राजवंशी समाज विकास समिती जिल्ला कार्यसमिति झापाकी  उपाध्यक्ष मेनुका राजवंशीले स्वागत गरेकी थिइन् । 

कार्यक्रममा राजवंशी समाज विकास समितिका केन्द्रिय सल्लाहकार पानीलाल राजवंशीले औचित्यमाथी प्रकाश पार्दै विश्व महावीर वीर पुरुष चिल्हारायर (सुक्लध्वज) को चर्चा गरेका थिए ।

कार्यक्रममा गौरादह नगर उपप्रमुख जलबर्षा राजवंशी, कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजवंशी, थारु कल्याणकारिणी सभा झापाका अध्यक्ष अमृतलाल चौधरी, आदीवासी जनजाती नगर समन्वय परिषद् बिर्तामोडका अध्यक्ष राजकुमार राजवंशी,  राजवंशी समाज विकास समितिका पूर्व केन्द्रिय सचिव रणकुमार राजवंशी,राजवंशी समाज विकास समितिका जिल्ला सचिव सोहनलाल  राजवंशी,  राजवंशी जाती उत्थान मञ्चका केन्द्रीय अध्यक्ष खकेन राजवंशीलगायतले विश्व महावीर वीर पुरुष चिल्हारायर (सुक्लध्वज) को योगदान समाजका लागी उदाहरणीय भएको बताएका थिए । 

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव तथा अध्यक्ष पदका उम्मेदवार अर्जुनकुमार मैनालीले आफूलाई मत दिएर  बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी बनाउन आग्रह गरेका थिए । 

कार्यक्रममा  राजवंशी समाज विकास समितिका केन्द्रिय सचिव लखनलाल राजवंशी, राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी,  राजवंशी समाज विकास समितिका जिल्ला कार्यसमिति र बिर्तामोड नगर समितिका पदाधिकारीलगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा गायिका उर्मिला राजवंशी, वालगायक जेनियस राजवंशी , झमकदेवी राजवंशीले गीत, विद्या राजवंशी, सदिक्षा राजवंशी, पुनम राजवंशीलगायतले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्यदेखि कार्यक्रम सञ्चालनसम्म र गीत, नृत्यसमेत राजवंशी भाषामा प्रस्तुत गरिएको थियो । 

 कार्यक्रमको सञ्चालन राजवंशी समाज विकास समितिका  बिर्तामोड नगर सचिव बालकृष्ण राजवंशीले गरेको बिर्तामोड – ५ की अध्यक्ष रुपा राजवंशीले जानकारी दिइन् ।