बिर्तामोड । प्रदेश न. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिती झापाको आयोजनामा बिर्तामोडमा बिरोध सभा सम्पन्न भएको छ । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचानवादीले बिर्तामोडमा प्रदर्शनसहित बिरोध सभा  गरेका हुन् ।

गत वर्ष फागुन १७ गते प्रदेश नं.१ को नाम कोशी नामकरण गरिएको र त्यसले १ नम्बर प्रदेशको पहिचान मेट्ने काम भएकाले फागुन १७ गतेलाई कालो दिनका रूपमा विरोध प्रदर्शनसहित सभा गरेको हो ।

बिर्तामोडको सिटीसेन्टरबाट निस्किएको कालो झण्डासहित प्रदर्शनकारीहरुको र्यालीले  पहिचानविरोधी होसियार, कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा सबै प्रान्तको नामकरण गर , संघीयता पुनः सीमांकन गर, मुक्ति योद्धा लाजेहाङ लिम्बूलाई सहिद घोषणा गर’ लगायतका नारा लगाउँदै मुक्तिचौकको बिरोध सभामा सहभागिता जनाएका थिए । 

 प्रदेश न. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिती झापाका अध्यक्ष पाण्डवलाल चौधरीको अध्यक्षतामा भएको बिरोध सभामा संघीय लोकतान्त्रिक मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन मिराक, किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेन, नागरिक उन्मुक्ति पार्टीका प्रदेश नं.१ का अध्यक्ष धनबहादुर पन्धाक, जनमुक्ति पार्टीका नेता भक्त खेवाङ ,राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशी, लिम्वुवान प्रान्तीय मञ्चकी प्रान्तीय उपाध्यक्ष विष्णु भट्टराईलगायतले पहिचानका आधारमा  प्रदेश नं. १ को नामाङकन नभइन्जेलसम्म आन्दोलन जारी रहने बताए ।

उनीहरुले  पहिचानको आधारमा प्रदेश नम्बर १ को पुनः नामाङ्कन गरेरै छाड्ने बताउँदै त्यसका लागी प्राणको आहुती दिनपनि पछि नपर्ने जनाए  ।

आगामी बैशाख १५ गते इलाम क्षेत्र नं.२ मा हुने उपनिर्वाचनका लागी पहिचानवादीहरुको साझा उम्मेदवार उठाएर विजयी बनाउने बताउँदै उनीहरुले त्यसका लागी पहिचानबादीहरु एक ठाउँमा उभिने जनाए । 

कार्यक्रमको सञ्चालन प्रदेश न. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिती झापाका सचिव सेसेहाङ् फियाकले गरेको संघीय लिम्बुवान प्रान्तीय मञ्च झापाका अध्यक्ष तथा प्रदेश न. १  पुनः नामाङ्कन संयुक्त संघर्ष समिती झापाका सहसंयोजक राजा आङ्थुपोले जानकारी दिए ।