बिर्तामोड । महिला मुक्ति अभियान झापाको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा लैंगिक हिंसा सम्वन्धी जनचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको   छ ।

संस्थाकी अध्यक्ष राधा सुव्वाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी कोषाध्यक्ष भगवति मेचे खरेलले स्वागत गरेकी थिइन् ।

संस्थाकी अध्यक्ष राधा सुव्वाले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा वीरता लेडी जेसीजकी अध्यक्ष मिनु ओली लोहनी, श्री छठ महिला मञ्च बिर्तामोडकी अध्यक्ष निशा शाह गुप्ता, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव निरीक्षक प्रकाश विष्टलगायतले लैंगिक हिंसा  सहनु आफैमा ठूलो गल्ती भएको बताउँदै आफूले पनि लैंगिक हिंसा नगर्ने र सहन पनि नसक्ने प्रण गर्नुपर्नेमा जोड दिएका थिए ।लैंगिक हिंसा अन्त्य गर्ने अभियान घरैदेखि शुरु गर्नुपर्नेमा जोड दिंदै उनीहरुले भित्री मनैदेखि लैंगिक हिंसा अन्त्य गर्छु भनेर लाग्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य , वडाका विभिन्न टोल समिति , किर्तन मण्डलीलगायत विभिन्न संस्थाका ५० जना   सहभागी थिए ।

सहभागीलाई प्रशिक्षक लता खरेलले  लैंगिक हिंसा र कानूनी उपचारबारे प्रशिक्षण दिएकी थिइन् । उनले  लैंगिक समानता ल्याउन कानुनमा व्यवस्था भएको कुरा, कानुनी उपचार र उजुरी गर्न जानुपर्ने निकाय र समय अवधि जस्ता विषयमा जानकारी गराइन् ।

उनले शारीरिक हिंसा, मानसिक हिंसा, सामाजिक र साँस्कृतिक हिंसा, यौनिक वा यौन हिंसा, आर्थिक हिंसा जस्ता समस्या उत्पन्न भए तुरुन्तै जानकारी गराउन सहभागीलाई आग्रह गरिन् । 

नारी सञ्चार गृहकी स्वस्तिका आचार्य, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन संस्थाकी पूर्व सचिव विनिता तामाङले गरेकी थिइन् ।