बिर्तामोड ।  संयुक्त महिला आवाज नेपाल केन्द्रीय समिति विर्तामोड –२ झापाले  क्यान्सरबाट पीडित बनेकी  इलाम– ४ निवासी पबित्रादेबि ढकाललाई आर्थिक सहयोग गरेको छ ।

क्यान्सरबाट पीडित बनेकी ढकालको बारेमा उनकी आफन्त संयुक्त महिला आवाज नेपाल बाह्दशी शाखा सदस्य सुनिता सापकोटाले जानकारी गराएपछि संस्थाका सदस्यहरुबाट सहयोग रकम संकलन गरी सापकोटा मार्फत एघार हजार एक रुपैयाँ  सहयोग हस्तान्तरण गरिएको  संस्थाकी केन्द्रीय अध्यक्ष शिखा खड्का गणेशले बताइन् ।

आर्थिक अवस्था न्यून भएकी ढकालको हाल भरतपूरस्थित क्यान्सर अस्पतालमा उपचार भइरहेको र उपचारमा आर्थिक अभाव भएको  उनकी आफन्त तथा संस्थाकी  बाह्दशी शाखा सदस्य सुनिता सापकोटाले जानकारी गराएपछि संस्थाका पदाधिकारी, सदस्यबाट तत्काल  रकम संकलन गरी ढकालको उपचारमा सहयोग गरिएको उनले बताइन् ।

जीवनमरणको दोसाँधमा रहेकी ढकालको उपचारमा सहयोग गर्न उनले सबैलाई अपिल गरेकी छिन् ।

झापाको विर्तामोड –२ मा केन्द्रीय कार्यालय रहेको संस्थाले महिलाहरुको जीवनस्तर सुधार, बालबालिकाको शिक्षा, स्वास्थ्य, महिला हक, अधिकार र संरक्षण एवं सामाजिक सरोकारका विषयमा विभिन्न कार्य गर्दै आएको बताउँदै उनले दुःखमा परेका महिलाहरुको चहर्याइरहेको घाउमा मल्हमपट्टि गर्न आफूहरु लागीपरेको जनाइन् ।

उनले भनिन् ः तपाईहरुको सानो सहयोगले कसैको जीवन बचाउन सकिन्छ भने सहयोग गरी पुण्यको भागी वन्न म सबैलाई आग्रह गर्दछु ।

आफूले यसअघि आर्थिक अभियान चलाएर सयौं दुःखमा परेका महिलाको जीवन बचाएको बताउँदै उनले सबैले सहयोग गरे ढकाललाई बचाउन सकिने जनाइन् । 

 पाँचथर घर भइ हाल ईलामको  माई नगरपालिका शुक्रबारेमा बस्दै आएकी ढकाल फोक्सोको क्यान्सरबाट पीडित भएको र नाजुक  आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको बाह्दशी शाखा सदस्य सुनिता सापकोटाले बताइन् ।

संयुक्त महिला आवाज नेपाल केन्द्रीय समिति विर्तामोड –२ झापाले  क्यान्सरबाट पीडित बनेकी  इलाम– ४ निवासी पबित्रादेबि ढकाललाई आर्थिक सहयोग गरेकोमा उनले संस्थाकी केन्द्रीय अध्यक्ष शिखा खड्का गणेशसहित संस्थाका पदाधिकारीहरुलाई धन्यबाद दिइन् ।