बिर्तामोड ।  गायक अर्जुन खरेलको स्वर रहेको गीत ‘दुई चुल्ठी केश’ को म्युजिक भिडियो बिर्तामोडमा बिमोचन गरिएको छ ।

 भद्रपुर–१०, चन्द्रगढी निवासी गायक खरेलको छैठौं म्युजिक भिडियो ‘दुई चुल्ठी केश’ को ‘  डाइनामिक ग्रुप नेपालको आयोजनामा भएको कार्यक्रममा विमोचन गरिएको हो ।

डाइनामिक ग्रुप नेपालकी अध्यक्ष खगिन्द्रा खुसीको अध्यक्षता तथा  वरिष्ठ गीतकार तथा साहित्य चौतारी झापाका संस्थापक अध्यक्ष शिवशङ्कर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डाइनामिक ग्रुप नेपालकी  उपाध्यक्ष गीता सुवेदी नेपालले स्वागत गरेकी थिइन् । 

कार्यक्रममा प्रमुख अतिथि थापाले खरेलको गीत ‘दुई चुल्ठी केश’ को म्युजिक भिडियोको स्वीच थिचेर विमोचन  गर्दै देश विदेशमा चर्चित हुन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे । उनले गायक खरेलको गीतले साँगीतिक क्षेत्रमा इँटा थप्ने बताए ।

 त्यस्तै, कार्यक्रममा सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेल, साहित्यकार भवानी क्षेत्रीले शुभकामना व्यक्त गर्दै खरेलको गीतले बालकदेखि बृद्धसम्म सबैको मन जित्नेमा विश्वास व्यक्त गरे ।

प्राञ्जल साधना केन्द्रका विद्यार्थीहरु सिमरन कट्टेल र अनिता पौडेलले तोटक छन्दको स्वागत कविता स्वरमा वाचन गरेको कार्यक्रममा साहित्यकार विवशबलिभद्र कोइरालाले गजल र गायिका पवित्रा ओलीले गीत प्रस्तुत गरेका थिए ।  

कार्यक्रममा गायक खरेलले आफूले १७ वटा भन्दा बढी गीतमा स्वर दिएको बताउँदै ‘दुई चुल्ठी केश’ को  गीत र म्युजिक भिडियोलाई दर्शक तथा स्रोताले यसअघिका गीतझैं माया गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मारवाडी भाषाका कवि सत्यनारायण तायल, क्षितिज नाट्य प्रतिष्ठानका अध्यक्ष माधव कल्पित, पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, गीतकार टीका भट्टराई नेपाल, डा.कुमार सुवेदी, साहित्यकारहरु दुर्गाप्रसाद सिग्देल, भगवती ढुङ्गेल, पुनित वंशल, रश्मीशेखर सुवेदी, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला, पत्रकार मायामितु नेउपाने, क्षितिज नाट्य प्रतिष्ठानका हरिप्रसाद भण्डारी, सुजना खतिवडा, ताराप्रकाश भट्टराई, निरज पोखरेल, मानवअधिकारवादी विष्णुप्रसाद खरेल,तीर्थ चापागाईं, राजेन्द्र खरेल, भीष्म खरेल, उर्मिला विमली खरेल, इन्दिरा खरेल, नविन खरेल, याम खरेललगायतको सहभागिता रहेको थियो । 

कार्यक्रमको सञ्चालन डाइनामिक ग्रुप नेपालका कोषाध्यक्ष चन्द्रमणि पौडेलले गरेका थिए ।  

 रोहित लिम्बूको शब्द,संगीत र गायक खरेलको स्वर रहेको ‘दुई चुल्ठी केश’गीतको म्युजिक भिडियोमा क्यामेरामेन हितेश राई रहेका छन् भने  म्युजिक भिडियोमा मुकेश गुरुङ ,मेलिना लिम्बूलगायतको अभिनय रहेको छ । गीतले जातीय विभेद अन्त्य गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।