बिर्तामोड । झापाको बिर्तामोड –४ मा रहेको नेवाःछेंमा नेवार समुदायसहित अन्य समुदायका युवायुवति धिमे बाजा बजाउँदै गरेको भेटिए ।
प्राय ःगरेर नेवार समुदायका व्यक्तिले नेवार समुदायमा शोक बाहेक अन्य सबै शुभकार्यमा बजाइने ‘धिमे बाजां’ नेवार समुदायसहित अन्य समुदायका युवायुवतिले बजाउँदै गरेको दृश्य हेर्न लायकको थियो ।
नेवाः पासा मुना पुचः बिर्तामोड नगर समितिले आयोजना गरेको एक महिने धिमे बाजा प्रशिक्षण समापन कार्यक्रममा प्रशिक्षणमा सहभागी २६ जना नेवार समुदायसहित अन्य समुदायका युवायुवतिले धिमे बाजा बजाएर कार्यक्रममा सहभागीको मन जितेका थिए ।
नेवार समुदायसहित राजवंशी, बराइली, लिम्बू समुदायका युवायुवतिले एक महिनासम्म धिमे बाजा बजाउने प्रशिक्षण लिएको नेवाः पासा मुना पुचः बिर्तामोड नगर समितिका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।
धिमे बाजाको संरक्षण नभएर लोपोन्मुख अवस्थामा पुगेपछि धिमे बाजा संरक्षण गर्ने उद्धेश्यले धिमे बाजा प्रशिक्षण कार्यक्रम गरिएको उनले बताए ।
पछिल्लो समय नेवार समुदायका युवा पुस्तामा पश्चिमी संस्कृतिको प्रभावका कारण आफ्नो संस्कृतिप्रतिको मोह घटेर गएको अवस्थामा उनीहरुमा आफ्नो भाषा र संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन युवालाई धिमे बाजाको प्रशिक्षण दिइएको उनले बताए ।
उनले भने ‘ नेवार समुदायको ‘युवा पुस्ताले धिमे बाजा संरक्षणमा चासो नदेखाए संस्कृति नै लोप हुनसक्ने अवस्था थियो, अहिले उनीहरुले धिमे बाजा प्रशिक्षण लिएर धेरै राम्रो काम गरेका छन् । ’
नेवाः पासा मुना पुचः बिर्तामोड नगर समितिका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष राजीव श्रेष्ठले स्वागत गरेका थिए ।
कार्यक्रममा बिर्तामोड –५ का वडाध्यक्ष रोहित प्रसाई, आदीवासी जनजाती महासंघ बिर्तामोड नगर अध्यक्ष राजकुमार राजवंशी, संस्थाका संस्थापक अध्यक्ष कृष्ण उदास, संस्थाका इन्द्रपुर अध्यक्ष थर्कमान श्रेष्ठ, नेवा ःदेय् दवूका झापा उपाध्यक्ष कमल गुभाजुलगायतले धिमे बाजा संरक्षणमा झापाका नेवार समुदाय लागिपरेकोमा खुशी व्यक्त गर्दै आफ्नो परम्परा र संस्कृति संरक्षणका लागि झापामा रहेका नेवार समुदायले देखाएको अग्रसरता सबैका लागि अनुकरणीय रहेको बताए । उनीहरुले धिमे बाजा बजाएर आफ्नो भाषा र संस्कृतिको संरक्षणमा जुट्न प्रशिक्षार्थीलाई आग्रह गरे ।
खासगरी धिमे पहिले ज्यापू समुदायका युवाले मात्र बजाउने बाजाका रुपमा परिचित भएपनि अहिले युवतीसमेत रहरलाग्दो गरी यो बाजा बजाउन अग्रसर हुन थालेको धिमे बाजाका प्रशिक्षक आयुस शाक्य बताउँछन् ।
आफूले २६ जना नेवार समुदायसहित राजवंशी, बराइली, लिम्बू समुदायका युवायुवतिलाई एक महिनासम्म धिमे बाजा बजाउने प्रशिक्षण दिएकाले उनीहरु धिमे बाजा बजाउन सिपालु रहेको पाउँदा खुशी लागेको उनको भनाई छ ।
शुरु शुरुमा धिमे बाजा बजाउन असहज भए पनि अहिले यो बाजा बजाउँदा आनन्द आउने गरेको प्रशिक्षार्थीहरु बताउँछन् ।
धिमे बाजां’ नेवार समुदायले नयाँ वर्ष, विजयादशमी, दीपावली, गाईजात्रालगायतका पर्वमा बजाउने एक महिने धिमे बाजा प्रशिक्षण कार्यक्रम संयोजक लक्ष्मी श्रेष्ठले बताए ।
लोकप्रिय रहेको धिमे रूखको बेलनाकार टोड्कोलाई भित्रपट्टि पूरै खोक्रो बनाई दुबैतिर छालाले मोडेर बनाइएको ‘ताल बाजा’ को रुपमा परिचित धिमे बाजा काठमाडौँ उपत्यकाका नेवार समुदायमा सबैभन्दा प्रचलित रहेपनि पछिल्लो समय झापाका नेवार समुदायले पनि रुचाउन थालेकाले आफूहरुले धिमे बाजा प्रशिक्षण कार्यक्रम राखेको उनले बताए ।अहिले नेवार समुदायमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुँदै धिमे बाजा बजाउने गरेको उनको भनाई छ ।
बशन्तप्रेमी राजभण्डारीले धिमे बाजा किन्न १० हजार रुपैयाँ प्रदान गरेको कार्यक्रममा धिमे बाजा प्रशिक्षणमा सहभागीलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
बिर्तामोड वडा नं. ४ र ५ को आर्थिक सहयोगमा भएको कार्यक्रमको सञ्चालन संस्थाका सदस्य तारामणी श्रेष्ठले गरेका थिए ।




















