बिर्तामोड । साहित्य चौतारी झापाले नेपाली साहित्यका स्मरणीय र वन्दनीय स्रष्टा भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीमा पूर्वका मोतिराम उपनामले परिचित भाषाविद् चुडामणि रेग्मीको स्वास्थ्यलाभको कामना गरेको छ ।
एक हप्ता अघि मस्तिष्कघात भएर भद्रपुर–१० चन्द्रगढी निवासमा स्वास्थ्यलाभ गरिरहेका प्रसिद्ध साहित्यकार एवम् झापाका पहिलो पुस्ताका पत्रकार भाषाविद् रेग्मीलाई उनको निवासमै पुगेर साहित्य चौतारी झापाले भानुभक्तिय रामायणको श्लोकपाठसहित स्वास्थ्यलाभको कामना गरेको हो ।
साहित्य चौतारीका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ ,सह संरक्षक तथा सचिव गौरव श्रेष्ठ, निवर्तमान अध्यक्ष हस्त परियार , सल्लाहकार संयोजक राजेन्द्रप्रसाद संग्रौला, सल्लाहकार सदस्य हरीनारायण भट्टराई, प्रेस सल्लाहकार तुलसीप्रसाद निरौलालगायतको टोलीले रेग्मीलाई स्वास्थ्यलाभको कामना गरेको थियो ।
साहित्य चौतारीका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले भानुभक्तिय रामायणको दुईवटा श्लोक बाचन गरेर सुनाउँदा भाषाविद् रेग्मीको मुहारमा चमक आएको थियो । साहित्य चौतारीको रजत वर्ष महाअभियान समापनको अवसरमा साहित्य चौतारीले सोमबार आयोजना गरेको रथारोहणमा भाषाविद् रेग्मीलाई समेत सहभागिता गराउने उद्धेश्यले केही दिन अघि निमन्त्रणा दिन गएको साहित्य चौतारीको टोली भाषाविद् रेग्मीलाई मस्तिष्कघात भएर मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि भर्ना गरिएको थाह पाएपछि छोरा प्रदिपमणि रेग्मीलाई निमन्त्रणा पत्र थमाएर फर्किएको थियो ।
भाषाविद् रेग्मी अस्पतालबाट घरमा स्वास्थ्यलाभ गरिरहेको थाह पाउनासाथ स्वास्थ्यलाभको कामना गर्दै कार्यक्रममा सहभागिता गराउन सल्लाह गर्न रेग्मी निवास साहित्य चौतारीको टोली गएको थियो ।
घरमै स्वास्थ्य लाभ गरिरहेका भाषाविद् रेग्मीले आफू कार्यक्रममा सहभागी हुन नसक्ने भएपनि कार्यक्रम सफलताको शुभकामना दिएको साहित्य चौतारीका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले बताए ।
रेग्मीलाई रथारोहण नगराएपनि उनको तस्वीर राखेर रथारोहण गराइने र रेग्मीलाई प्रदान गरिने नागरिक अभिनन्दन पत्र र मायाको चिनो केही दिन पछि निवासमै हस्तान्तरण गरिने उनले बताए ।
साहित्य चौतारीको स्थापनाकाल देखि नै साहित्य चौतारीको अभिभावक भएर रजतवर्षसम्म आइपुग्दा मार्गदर्शन गरिरहेका भाषाविद् रेग्मीले संस्थाको संस्थापक सल्लाहकार, मानार्थ सल्लाहकार, कार्यक्रमको प्रमुख अतिथि, कार्यक्रमको निर्णायक भएर भूमिका निर्वाह गरेको बताउँदै साहित्य चौतारी झापाले यस अघि नै उनलाई अभिनन्दन गरिसकेको अध्यक्ष श्रेष्ठले जनाए ।




















