बिर्तामोड । साहित्य चौतारी झापाले आगामी भदौ ३ गते राष्ट्रकवि माधवप्रसाद घिमिरेको चौथो स्मृति दिवस, कृति विमोचन ,तीज विशेष कार्यक्रम र होटल हिकोला हेरिटेज बिर्तामोडको १०औं वार्षिकोत्सव गरिने भएको छ ।

साहित्य चौतारी झापाका  संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा बसेको संस्थाको बैठकले यस्तो निर्णय गरेको हो ।

साहित्य चौतारी झापाले आगामी भदौ २ गते राष्ट्रकवि माधवप्रसाद घिमिरेको चौथो स्मृति दिवसको दिन काठमाडौं घिमिरे निवासमा गई उनकी श्रीमती आमा महाकालीलाई सम्मान गर्दै राष्ट्रकवि घिमिरेका रचना वाचन गरी उनीप्रति श्रद्धा अर्पण गर्ने कार्यक्रम रहेको साहित्य चौतारी झापाका  संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले बताए ।

त्यस्तै भदौ ३ गते बिर्तामोडमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको चौथो स्मृति दिवस राष्ट्रकवि घिमिरेका रचना वाचन गरी उनीप्रति श्रद्धा अर्पण गरी मनाइने उनले बताए ।

२०५६ साल असार ३१ गते  १८६ औं  भानुजयन्तीको अवसर पारेर  प्रमुख अतिथिको रुपमा साहित्य चौतारी झापाको उद्घाटन गरेका राष्ट्रकवि घिमिरे साहित्य चौतारी झापाको अभिभावकको रुपमा रहेको बताउँदै अध्यक्ष श्रेष्ठले २०७५ साल कात्तिक १९ गते दशैंको कोजाग्रत पूर्णिमाको दिन काठमाडौंस्थित घिमिरे निवासमा गएर राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गर्नुका साथै उनको हातबाट टीका र आशिर्वाद ग्रहण गरेको जनाए । 

त्यस्तै साहित्य चौतारी झापाले आगामी भदौ ३ गते कवी, हाइकु र मुक्तककार बिमल गिरीको मुक्तक संग्रह अजम्वरीको  विमोचन गरिने भएको छ ।

बेल्जियम निवासी गिरीको छैटौ कृति मुक्तक संग्रह अजम्बरी विमोचन कार्यक्रम संस्थाका सल्लाहकार हरीनारायण भट्टराईको प्रमुख आतिथ्यमा हुने र कृतिको समिक्षा साहित्यकार विवस वलिभद्र कोइरालाले गर्ने तय भएको छ ।

साथै उक्त दिन महिलाहरुको महान् पर्व हरितालिका,तीज विशेष कार्यक्रम गरिने र कार्यक्रमको संयोजकको जिम्मेवारी साहित्य चौतारी झापाका संस्थापक संरक्षक वरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठलाई दिइने भएको छ ।

त्यस्तै गरी सोही दिन नै  होटल हिकोला हेरिटेज बिर्तामोडको १०औं वार्षिकोत्सवको अवसर पारेर पर्यटन पर्वद्धनमा गीत,संगीत, भाषा,संस्कृति परम्पराको भूमिका विषयक अन्तरक्रिया गरिने भएको छ । साहित्य चौतारीका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले छोरी मनिताको जन्मदिन पारेर २०७२ साल भदौ ४ गते सञ्चालनमा ल्याएको होटल हिकोला हेरिटेज बिर्तामोडको तत्कालीन पर्यटनमन्त्री कृपासुर शेर्पाले उद्घाटन गरेका थिए ।  

आगामी भदौ ३ गते सोमबार जनैपूर्णिमाको दिन बिहान १० बजेदेखि १२ बजेसम्म कवि विमल गिरीको मुक्तक संग्रह अजम्बरीको विमोचन , १२ बजेदेखि दिउँसो ३ बजेसम्म तीज विशेष कार्यक्रम र दिउँसो ३ बजेदेखि ६ बजेसम्म होटल हिकोला हेरिटेज बिर्तामोडको १० औं वार्षिकोत्सव विशेष कार्यक्रम गरिने उनले बताए । 

बैठकले साहित्य चौतारीले काठमाडौंमा आयोजना गरेको प्राज्ञ गणेश रसिकको अभिनन्दन तथा लोकगीत सम्राट एलपी जोशी र शास्त्रीय संगीत गुरु गुरुदेव कामतको स्मृतिमा श्रद्धाञ्जली सभा सफल बनाउन महत्वपूर्ण भूमिका निबार्ह गर्ने कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छाली,अध्यक्षको जिम्मेबारी सम्हालेर कार्यक्रमलाई भव्यरुपमा सफल बनाउने  साहित्य चौतारी झापाका सहसंरक्षक तथा सचिव गौरव श्रेष्ठ, काठमाडौंमा कार्यक्रमको सहजीकरण गरी  भव्यरुपमा सफल बनाउने संस्थाका काठमाडौं सल्लाहकार संयोजक  राधेश्याम लेकालीसहित सम्पूर्णलाई धन्यबाद ज्ञापन गरेको छ । 

साहित्य चौतारी झापाले संस्थाको २५ औं वार्षिक साधारण सभा आगामी भदौ ८ गते शनिबार संस्थाको सभाहलमा गर्ने भएको छ ।

त्यस्तै संस्थाले आगामी भदौ २९ गतेदेखि संस्थागत सम्मानको थालनी गर्ने भएको छ ।

छिमेकी राष्ट्र भारतसहित विभिन्न स्थानमा क्रियाशिल रहेर साहित्य,संगीत, कला, भाषा ,संस्कृति, परम्पराको श्रीवृद्धिमा समर्पित वैधानिक संस्थाहरुलाई ज्येष्ठताको आधारमा सम्मान गरिँदै लैजाने बताइएको छ ।

साहित्य चौतारी झापाका  संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा संस्थापक संरक्षक वरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठ, उपाध्यक्ष हिम्मत नेम्वाङ, कोषाध्यक्ष भवानीप्रसाद गौतम, सदस्यहरु मीना अधिकारी, सुनिता तामाङ, कल्पना भट्टराई, एनवी दाहाल नविन, सल्लाहकार संयोजक राजेन्द्र संग्रौला, अनिरुद्र ओली, प्रेस सल्लाहकार तुलसीप्रसाद निरौलालगायतको सहभागिता रहेको थियो ।