बिर्तामोड । साहित्य चौतारी झापाले कवि, हाइकुकार, मुक्तककार विमल गिरीको सातौं कृति अजम्बरी (मुक्तक संग्रह)को बिमोचन गर्ने भएको छ ।
झापा बिर्तामोड–२ चारपाने निवासी हाल युरोपियन मुलुक बेल्जियमको राजधानी ब्रसेल्समा रहेर पनि नेपाली भाषा र साहित्यको विकासमा सक्रिय गिरीको सातौं कृति अजम्बरी (मुक्तक संग्रह) आगामी भदौ ३ गते सोमबार झापाको बिर्तामोडस्थित साहित्य चौतारीको सभाहलमा बिमोचन गरिने कार्यक्रम तय गरिएको साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले बताए ।
जनै पूर्णिमाको अवसर पारेर उक्त दिन विहान १० वजेदेखि १२ बजेसम्म बिमोचन कार्यक्रम राखिएको बताउँदै अध्यक्ष श्रेष्ठले उक्त कार्यक्रमको संयोजकमा साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा बरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठ, प्रमुख अतिथिमा संस्थाका सल्लाहकार हरीनारायण भट्टराई, समिक्षकमा साहित्यकार तथा संस्थाका सम्मानित श्रष्टा विवसवलिभद्र कोइरालालाई जिम्मेबारी दिइएको अध्यक्ष श्रेष्ठले बताए ।
सानैदेखि साहित्य सृजनामा सक्रिय गिरीको पहिलो कृति २०६५ सालमा गिती एल्बम ‘उपासना’ दोश्रो कृति २०६६ सालमा गिती संग्रह ‘सम्झनाका तरेलीहरु’ तेश्रो कृति २०६८ सालमा मुक्तक संग्रह ‘गोधुली मन’ चौथो कृति २०७२ सालमा मुक्तक संग्रह ‘स्पन्दनका छालहरु’, पाँचौं कृति २०७३ सालमा हाइकु संग्रह ‘विभाजित मन’ ,र छैटौं कृति २०७९ सालमा हाइकु संग्रह ‘सुनाखरी’ प्रकाशित भइसकेको छ ।
उनको सातौं कृति २०८० सालमा ‘अबम्बरी’ मुक्तक संग्रहको विमोचन आगामी भदौ ३ गते सोमबार झापाको बिर्तामोडस्थित साहित्य चौतारीको सभाहलमा हुँदैछ ।
कृति विमोचनका लागि उनी बेल्जीयमबाट झापा आउनेक्रममा रहेका गिरीले आफ्नो गृहजिल्ला झापामा आफ्नो कृति विमोचन गर्न पाउँदा खुशी लागेको बताए ।
साहित्य, संगीत, कला, भाषा, संस्कृति ,परम्पराको जगेर्ना गर्दै साहित्यीक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको साहित्य चौतारीमा आफ्नो कृति विमोचन गर्न पाउनु आफ्ना लागी गौरवको कुरा भएको उनको भनाई छ ।
उनले भने –कृति विमोचनका लागि बेल्जीयमबाट झापा आउँदै छु , भदौ ३ गते सोमबार बिर्तामोडको साहित्य चौतारीको सभाहलमा मेरो सातौं कृति ‘अबम्बरी’ मुक्तक संग्रहको बिमोचन हुँदैछ । सबैजना आईदिनु होला ।




















