बिर्तामोड । संयुक्त महिला आवाज नेपाल केन्दीय समिति झापाले क्यान्सरपीडित महेन्द्रप्रसाद सिटौलालाई आर्थिक सहयोग गरेको छ ।

संयुक्त महिला आवाज नेपाल केन्दीय समितिकी अध्यक्ष शिखा खड्का गणेशको नेतृत्वमा गएको पदाधिकारीहरुको टोलीले झापा बिर्तामोड –२ निवासी क्यान्सरपीडित सिटौलालाई ११ हजार तीन सय रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

जीवन मरणको दोसाँधमा रहेर कष्टकर जीवन विताइरहेका सिटौलाको उपचारमा थोरै भएपनि सहयोग पुगोस् भनेर उक्त सहयोग गरिएको संयुक्त महिला आवाज नेपाल केन्दीय समितिकी अध्यक्ष शिखा खड्का गणेशले बताइन् ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत संस्थाका पदाधिकारीहरुबाट संकलन गरेर उक्त सहयोग गरिएको केन्द्रीय अध्यक्ष गणेशले बताइन् । उनले क्यान्सरपीडित सिटौलालाई सहयोग गरेर जीवन बचाइदिन सबैलाई आग्रह गरिन् ।

बिर्तामोड –२ निवासी क्यान्सरपीडित सिटौलालाई बचाउन महेन्द्र प्रसाद सिटौला बचाउ अभियान सञ्चालन गरी देशविदेशबाट सहयोग जुट्ने काम भइरहेको अभियानका गंगा सिटौलाले बताए ।

आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेकाले सिटौलाको उपचारमा सहयोग गर्न उनले सबैलाई आग्रह गरेका छन् ।