बिर्तामोड । झापाको बिर्तामोडस्थित शनिश्चरे रोडको ट्याक्सी स्टेण्ड नजिकै आइतबारदेखि कोईराला मार्केट सञ्चालनमा आएको छ ।
डेढ करोडको लागतमा निर्माण भएको दुई कठ्ठा क्षेत्रफलमा फैलिएको मार्केटको विभिन्न प्रकारका व्यवसायीहरुलाई एकैठाउँमा व्यवसाय संचालन गर्नका लागि कोईराला मार्केट सञ्चालनमा आएको कोईराला मार्केटका सञ्चालक चण्डिराज कोईरालाले जानकारी दिए ।
मार्केटको माथिल्लो तलामा सहकारी र बिरयानी हाउस सञ्चालनमा छन् भने भुई तलामा फेन्सी कपडा,रेडिमेट कपडा, जुत्ता चप्पल, कस्मेटिक्स, खाद्यान्न ,फलफूल,लगायतका सामग्री उपलब्ध हुने कोईराला मार्केट बजार व्यवस्थापन समितिका सचिव बिकास अग्रवालले बताए । कुल ३५ वटा सटर रहेको मार्केटमा खानेपानी, शौचालयसहितको सुविधा रहेको उनले बताए । ग्राहकहरुलाई एउटै छानामुनी सबै प्रकारका सामान उपलव्ध गराउने उद्धेश्यले स्थापना गरिएको मार्केटमा सामान पनि सस्तोमा उपलव्ध हुने उनको भनाई छ ।
मार्केटमा उद्घाटनको अवसरमा साउन २७ गतेदेखि भदौ १०गतेसम्म विशेष छुटको व्यवस्था रहेको मार्केटका अध्यक्ष तथा व्यवस्थापक महाप्रसाद कोईरालाले बताए । उनले ग्राहकहरुलाई सरल एवम् सस्तो मूल्यमा सामान उपलव्ध गराइएकोले एक पटक मार्केटमा आएर खरिदबिक्री गर्न आग्रह गरे ।
मार्केटका अध्यक्ष तथा व्यवस्थापक महाप्रसाद कोईरालाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत प्रजेश खनालले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाईंले कोईराला मार्केटलाई पूर्वकै किनमेलको गन्तब्य बनाउनुपर्ने बताइन् ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, बिर्तामोड नगरपालिका वडा न ५ का अध्यक्ष रोहित प्रसाईलगायतले कोईराला मार्केटका व्यवसायीलाई कुनै किसिमको समस्या परेमा आफूहरुले सहयोग गर्ने प्रतिवद्धता जनाउँदै व्यवसायीहरुलाई पनि सरल मूल्य ग्राहकलाई सामान उपलव्ध गराउन आग्रह गरे ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष जीवनकुमार खड्का, महासचिव कुशल खतिवडा , सदस्यहरु दिनेश श्रेष्ठ, रमेश घिमिरे, केदार खनाल,शत्रुघन रौनीयार लगायत व्यवसायीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण प्रजेश खनालले गरेका थिए ।




















