बिर्तामोड । नेपाल भेनियर उत्पादक संघ केन्द्रीय समितिले संस्थाका पूर्व अध्यक्ष तथा कोशीप्रदेशका उर्जा ,सिञ्चाई तथा खानेपानी मन्त्री एकराज कार्कीलाई सम्मान गरेको छ ।
झापाको बिर्तामोडमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा संस्थाका पदाधिकारीहरुले मन्त्री कार्कीलाई सम्मान गरेका हुन् ।
नेपाल भेनियर उत्पादक संघका केन्द्रीय अध्यक्ष दीपक पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा भेनीयर उत्पादक व्यवसायीहरुले मन्त्री कार्कीसमक्ष आफ्ना समस्या सुनाएका थिए ।
नेपाल भेनियर उत्पादक संघका केन्द्रीय अध्यक्ष दीपक पाण्डेले भेनियरले प्लाई उद्योगको लागि कच्चापदार्थ उत्पादन गर्ने र नेपालको निजी वनलाई व्यवसायिक बनाउन टेवा पुर्याउँदै आएको बताउँदै भेनियरको संरक्षण गर्न कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
भेनियर व्यवसाय सरकारलाई धेरै राजश्व बुझाउने र धेरैलाई रोजगारी प्रदान गर्ने भएपनि भेनियर उद्योग संकटमा परेको बताउँदै उनले नेपालमा उत्पादन भएको भेनियरलाई भारत लगायत तेस्रो मुलुक निर्यातका लागि वातावरण बनाइदिन आग्रह गरे । नेपालका प्लाउड कम्पनीहरुले भेनियरको समेत काम गरेरका कारण भेनियर उद्योगहरु धराशायी भएर व्यवशायीहरु नै पलायनको अवस्थामा पुगेकाले त्यसलाई रोक्न उनले मन्त्री कार्कीसमक्ष आग्रह गरे ।
कार्यक्रममा मन्त्री कार्कीले भेनीयर उद्योग कृषिउपजअन्तर्गतको भएकाले आफूले भेनीयर उद्योगीका समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।
नेपाल भेनियर उत्पादक संघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका मन्त्री कार्कीले भेनियर उद्योगलाई निकासीमा सहुलियत प्रदान गर्न पहल गर्ने बताए ।
कार्यक्रमको सञ्चालन नेपाल भेनियर उत्पादक संघका केन्द्रीय महासचिव दिनेश शाक्यले गरेका थिए ।




















