बिर्तामोड साहित्य चौतारी झापाका संस्थापक संरक्षक एवम् अध्यक्ष देवीभक्त श्रेष्ठ काठमाडौमा सम्मानित भएका छन् । 

 साहित्यिक पत्रकार सङ्घले आफ्नो ५३ औँ स्थापना दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको अभिनन्दन सम्मान एवम् पुरस्कार समर्पण समारोहमा  साहित्य चौतारी झापाका संस्थापक संरक्षक एवम् अध्यक्ष देवीभक्त श्रेष्ठलाई सम्मान गरेको हो । 

  साहित्य चौतारी झापा स्थापना गरेर साहित्य , कला र संगीत,भाषा, संस्कृति, परम्पराको संरक्षण र विकासमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै संस्थापक संरक्षक श्रेष्ठलाई सम्मान गरिएको साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले बताए । 

 झापाको बिर्तामोडमा साहित्य चौतारी स्थापना गरेर तीनै पुस्ताका स्रष्टा सर्जकलाई एउटै थलोमार्फत साहित्य , कला र संगीत,भाषा, संस्कृति, परम्पराको  क्षेत्रमा निरन्तर अघि बढ्न प्रोत्साहित गर्दै आएका श्रेष्ठलाई  सापस विशेष सर्जक अभियन्ता सम्मान प्रदान गरिएको उनले बताए । 

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कलाकार केके कर्माचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षक एवम् अध्यक्ष देवीभक्त श्रेष्ठलाई कार्यक्रमका सभापति , प्रमुख अतिथिलगायतले फूलको माला,रुद्राक्षको माला, ढाका,  टोपी लगाइ दिएर दोसल्ला समेत ओढाइदिएर सम्मान पत्र प्रदान गरेका थिए । 

 सोही कार्यक्रममा साहित्यकारहरू सर्वश्री तेजेश्वरबाबु ग्वङ्ग, रोचक घिमिरे,कालीप्रसाद रिजाल,भागीरथी श्रेष्ठ, रामबाबु सुवेदी र डा.दुबसु क्षेत्री र कलाकार वसुन्धरा भुसाललाई सापस विशिष्ठ सर्जक सम्मानद्वारा अभिनन्दन गरिएको थियो ।

उनीहरुमध्ये स्वास्थ्यका कारण सशरीर उपस्थित हुन नसकेका  साहित्यकार तेजेश्वरबाबु ग्वङ्गलाई  कार्यक्रम पश्चात् उनको निवास भक्तपुरमा अभिनन्दन –पत्र हस्तान्तरण गरिएको थियो भने डा.दुबसु क्षेत्री जापानका लागि नेपालको राजदूत भएर गएका कारण कार्यक्रममा अनुपस्थित रहेका थिए। 

त्यसैगरी सविता श्रेष्ठ ‘बेहोसी’ लाई सापस विशेष सिर्जना सम्मान र बाबुराम श्रेष्ठलाई सापस प्रतिभा सम्मान प्रदान गरिएको थियो । उनीहरुमध्ये बाबुराम श्रेष्ठ पनि विदेशमा रहेकाले कार्यक्रममा अनुपस्थित रहेका थिए। 

 सोही कार्यक्रममा व्यथित काव्य सम्मानबाट मणि लोहनी र व्यथित काव्य डायस्पोरा सम्मानबाट सुरेन उप्रेती सम्मानित भएकोमा सुरेन उप्रेती पनि क्यानडामा रहेकाले कार्यक्रममा अनुपस्थित रहेका थिए ।

कार्यक्रममा लोकप्रिया पुरस्कारबाट लीलादेवी श्रेष्ठ पुरस्कृत भएकी थिइन् । १० हजार राशीको उक्त पुरस्कार रकम पुरस्कारका संस्थापक शशि रिमालले हस्तान्तरण गरेकी थिइन्। 

कार्यक्रममा प्रमुख अतिथि कर्माचार्यले साहित्यिक पत्रकार सङ्घले सर्जकहरूलाई अभिनन्दित,सम्मानित तथा पुरस्कृत गरेकोमा खुशी व्यक्त गर्दै अभिनन्दित,सम्मानित तथा पुरस्कृत हुने सर्जकहरूलाई बधाई तथा शुभकामना दिएका थिए।

कार्यक्रममा सापसका अध्यक्ष राधेश्याम लेकालीले साहित्यिक पत्रकार सङ्घको स्थापनाकालदेखिको इतिहास बताउँदै सापस एउटा ऐतिहासिक सङ्घ भएको र यस सङ्घले धेरै जना सर्जकहरूलाई अभिनन्दन, सम्मान र पुरस्कृत गरिसकेको जनाए ।

  साहित्यकार बिपि कोइरालालाई समेत अभिनन्दन गरेको स्मरण गर्दै उनले साहित्यिक पत्रकार सङ्घले अझै धेरै कार्य गर्ने जानकारी गराएका थिए ।

कार्यक्रममा समालोचक प्रा.डा.गोविन्दमानसिंह कार्कीले अभिनन्दित, सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरूको परिचयसहित साहित्यिक योगदानबारे चर्चा गर्दै कृतित्वका बारेमा प्रकाश पारेका थिए।

कार्यक्रममा अभिनन्दित,सम्मानित तथा पुरस्कृत हुनेहरूका तर्फबाट सर्जकहरू रोचक घिमिरे, रामबाबु सुवेदी, भागीरथी श्रेष्ठ तथा कलाकार वसुन्धरा भुसाल,लीलादेवी श्रेष्ठ, साहित्य चौतारी झापाका संस्थापक संरक्षक एवम् अध्यक्ष देवीभक्त श्रेष्ठलगायतले मन्तव्य राखेका थिए। 

कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षक एवम् अध्यक्ष देवीभक्त श्रेष्ठले राष्ट्रकवि माधवप्रसाद घिमिरेको चौथो स्मृति दिवसको सन्दर्भमा घिमिरेद्वारा रचित गीत गाएर उनीप्रति श्रद्धा अर्पण गरेका थिए भने बाल कलाकार रञ्जना थपलियाले नृत्य प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा.गोविन्दराज भट्टराई, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ इतिहासविद् सुरेन्द्र केसी, प्राज्ञ माया ठकुरी, प्राज्ञ उन्न्ती शीला बोहोरा, चर्चित समालोचक प्रमोद प्रधान, गीतकार तथा समाजसेवी शोभित उप्रेती तथा सापसका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठलगायतको आतिथ्य  रहेको थियो।

सापसकी कोषाध्यक्ष कथाकार पदमावती सिंहले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कवि श्रीबाबु कार्कीले गरेका थिए।