बिर्तामोड । पूर्वको पशुपतिनाथले.परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा आयोजना गरिएको अष्टोत्तोरशत एक सय आठ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञको उद्घाटन स्वामी कालीबाबा र श्रीकृष्ण प्रणामी धर्मका गुरुजी श्री १०८ मोहनप्रियाचार्यले गर्ने भएका छन् ।

आगामी बालाचतुर्दशी पर्वको अवसर पारेर धामको ४२औं बार्षिक अनुष्ठानको अवसरमा  मंसीर ८ गतेदेखि धाममा पहिलो पटक आयोजना गरिने अष्टोत्तोरशत एक सय आठ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञको उद्घाटनका लागी  स्वामी कालीबाबा र श्रीकृष्ण प्रणामी धर्मका गुरुजी श्री १०८ मोहनप्रियाचार्यलाई ल्याउने तयारी गरिएको धाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए । 

पूर्वमै पहिलो पटक आयोजना गरिएको  अष्टोत्तोरशत एक सय आठ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञको गरिमा बढाउन  भारतमा पुगेर कालीदास बाबाका रुपमा आफ्नो बृहत छवि बनाएका धर्मगुरु कालीदास बाबा(स्वामी १००८ कृष्णानन्द जी महाराज) र श्रीकृष्ण प्रणामी धर्मका मंगलधाम कालिम्पोङका गादीपति गुरुजी श्री १०८ मोहनप्रियाचार्यको आगमन हुने उनको भनाई छ ।

 पछिल्ला वर्षहरूमा नेपालका चर्चित व्यक्तित्वका रूपमा परिचित देविका साधक कालीबाबाको आगमनले धामको गरिमा बढ्ने बताउँदै अध्यक्ष गट्टानीले उनको स्वागतमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।

 भारतमा विख्यात बाबा कालिदास, त्यहाँ ठुला १० साधुसन्तमा गनिनुका साथै  उनी भारतवर्षमा छैटौं ठूला सन्तका रूपमा परिचित रहेको बताउँदै उनले  विशुद्ध रूपमा धार्मिक प्रयोजनका निम्ति उनलाई अर्जुनधारा जलेश्वरधाममा ल्याउन लागेको जनाए ।

 त्यस्तै श्रीकृष्ण प्रणामी धर्मका मंगलधाम कालिम्पोङका गादीपति गुरुजी श्री १०८ मोहनप्रियाचार्यलाई समेत महायज्ञ उद्घाटनका लागी आमन्त्रण गरिएको उनले बताए । यसवर्षको महायज्ञलाई भव्य बनाउन यी दुई गुरुहरुको आगमनले  महत्वपूर्ण भूमिका निर्वाह हुने उनको भनाई छ । मंसीर ८ गते स्वामी कालीबाबा र श्रीकृष्ण प्रणामी धर्मका गुरुजी श्री १०८ मोहनप्रियाचार्यको सहभागितामा विभिन्न जातजातीको झाँकीसहित नगरपरिक्रमा गरी महायज्ञको उद्घाटन गरिने अध्यक्ष गट्टानीले बताए ।