बिर्तामोड । विश्वब्यापीरुपमा ख्याति कमाएका  प्रख्यात हिन्दू धर्मगुरु श्री १००८ स्वामी कालीबाबाले पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा आयोजना गरिएको अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् । 

बालाचतुर्दशी पर्वको अवसर पारेर धामको ४२औं बार्षिक अनुष्ठानको अवसरमा  मंसीर ८ गते शनिबारदेखि धाममा आयोजना गरिने अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञको उद्घाटनका लागी  शुक्रबार झापा आएका श्री १००८ स्वामी कालीबाबाले अर्जुनधारा जलेश्वरधामको महिमा अपरम्पार भएको बताउँदै आफू आउन पाउँदा अति गौरव र खुशी लागेको बताए ।

उनले महाभारतकालीन इतिहास बोकेको अर्जुनधारा जलेश्वरधाम धाम पुण्यभूमि भएको बताउँदै अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञमा सहभागी भएर पुण्यको भागी बन्न सबैलाई आह्वान गरे ।  उनले महायज्ञमा सहभागी भएर दान दिएर यसको महत्व बुझ्न सबैलाई आग्रह गरे ।

उनले धाम परिषरको अवलोकनसहित पूजा अर्चना गरेका थिए । उनलाई  अर्जुनधारा जलेश्वरधाम समितिका अध्यक्ष नवीन गट्टानीसहितका पदाधिकारी , व्यासाचार्य कुवेर सुवेदी , मूल अर्चक अग्नी सिग्देललगायतले धाम परिसरमा स्वागत गरेका थिए । अर्जुनधारा जलेश्वरधामका बटुकहरुले स्वस्ती बाचनसहित उनलाई स्वागत गरिएको थियो । 

 उनले शनिबारबाट शुरु हुने  अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञको प्रमुख अतिथि भएर उद्घाटन गर्ने कार्यक्रम रहेको  अर्जुनधारा जलेश्वरधाम समितिका अध्यक्ष नवीन गट्टानीले बताए । 

त्यस्तै श्रीकृष्ण प्रणामी धर्मका मंगलधाम कालिम्पोङका गादीपति गुरुजी श्री १०८ मोहनप्रियाचार्य पनि शुक्रबार नै झापा आएका छन् ।  उनलाई श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्य समिति झापाका पदाधिकारीहरुले स्वागत गरेको श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्य समिति झापाका  निनिवर्तमान अध्यक्ष टहलदास ओलीले बताए । 

  शनिबार श्री १००८ स्वामी कालीबाबा र श्री १०८ स्वामी मोहनप्रियाचार्यको सहभागितामा विभिन्न जातजातीको झाँकीसहित नगरपरिक्रमा गरी महायज्ञको उद्घाटन गरिने भएकाले उक्त कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।