बिर्तामोड । झापा जिल्लाकै पुरानो, ऐतिहासिक र पौराणिक महत्व बोकेको झापाको बाह्रदशी–६ कञ्चनगढधाम साधुकुटीमा सञ्चालित गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुलमा आयोजना हुने ‘श्रीमद देवीभागवत महापुराण धनधान्याचल बिराट ज्ञानमहायज्ञ’ को उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने भएका छन् ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय सुप्रशिद्ध कथावाचक ईश्वरकृष्ण जी महाराजको सानिध्यमा सन्तोष रामानुजको प्रमुख कथाबाचनमा शनिबारबाट शुरु हुने महायज्ञको उद्घाटन मुख्यमन्त्री कार्कीले गर्ने कार्यक्रम तग गरिएको महायज्ञ आयोजक मूल समितिका संयोजक बेदमणि दाहालले बताए ।
उनले शनिबार बाह्दशी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधी, झापा जिल्लाका सम्पूर्ण गुरुकुलका प्रमुख गुरुसहित अन्य गुरुहरु, धार्मिक संघसंस्थाका प्रमुख, सामाजिक संघसंस्थाका पदाधिकारीहरु, चन्दादाता, सामाजिक अभियन्ता भजन किर्तन मण्डली, गुरुकुलका बटुक, धामीझाँक्री , विद्यार्थीलगायतको सहभागितामा शोभायात्रा निकालिने बताउँदै उक्त शोभायात्रामा सहभागी हुन सबैलाई आग्रह गरे ।
कञ्चनगढधाम साधुकुटी तथा गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुलका अध्यक्ष ज्ञानु सुवेदीले मुख्यमन्त्री कार्कीको प्रमुख आतिथ्यमा ‘श्रीमद देवीभागवत महापुराण धनधान्याचल बिराट ज्ञानमहायज्ञ’ को उद्घाटन गरिने र त्यसको तयारी पूरा भएको बताए ।
उनले १०८ शिवलिङ्गसहितको शिवालय निर्माण , झापा जिल्लाको पूरातात्विक महत्व बोकेको प्राचिन,धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलको रुपमा बाह्रदशी–६ स्थित गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुल कन्चनगढधाम साधुकुटीलाई विकास गर्ने, गुरुकुल व्यवस्थित गर्ने ,धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेकाले महायज्ञमा सहभागी भएर पुण्यको भागी बन्न सबैलाई आग्रह गरे ।
यसअघि महायज्ञलाई सफल बनाउन बृहत मोटरसाइकल र्यालीको समेत आयोजना गरिएको संचार विभाग प्रमुख दिपेन्द्र खरेलले बताए ।
संस्थाको ३४ औं धार्मिक अनुष्ठान तथा गुरुकुलको १७ औं वार्षिकोत्सव अन्तर्गत बालाचतुर्दशीको अवसर पारेर आगामी मंसीर ८ गते देखि १६ गते सम्म ‘श्रीमद देवीभागवत महापुराण धनधान्याचल बिराट ज्ञानमहायज्ञ’ को सञचालन हुने मन्दिरका महासचिव पुष्प भट्टराईले जानकारी दिए ।




















