बिर्तामोड । झापा जिल्लाकै पुरानो, ऐतिहासिक र पौराणिक महत्व बोकेको झापाको बाह्रदशी–६ कञ्चनगढधाम साधुकुटीमा सञ्चालित गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुलमा ‘श्रीमद देवीभागवत महापुराण धनधान्याचल ज्ञान महायज्ञ ’ शुरु भएको छ ।
महायज्ञ सम्पादन मूल समितिका संयोजक बेदमणी दाहालको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गुरुकुलका बटुक साहित रिजालले अंग्रेजी भाषामा र रोषन ढुंगेलले संस्कृत भाषामा स्वागत गरेका थिए ।
‘श्रीमद देवीभागवत महापुराण धनधान्याचल ज्ञान महायज्ञ ’ को उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए ।
प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले झापा जिल्लाको पूरातात्विक महत्व बोकेको प्राचिन,धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलको रुपमा बाह्रदशी–६ स्थित गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुल कन्चनगढधाम साधुकुटीलाई विकास गर्न तथा यस क्षेत्रमा सञ्चालित गुरुकुलको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले कन्चनगढधाम साधुकुटीलाई आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउन आफूले सहयोगको लागी पहल गर्ने बताए ।
कार्यक्रममा गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुल तथा कन्चनगढधाम साधुकुटीका अध्यक्ष ज्ञानु सुवेदीले मुख्यमन्त्री कार्कीलाई संस्थाको विकाससहितको ज्ञापनपत्र बुझाएका थिए । मुख्यमन्त्री कार्कीले बाहदशी गाउँपालिका तथा प्रदेश साँसद छवी चुडालसंग समन्वय गरेर बजेट पेश गर्न आग्रह गर्दै आफ्नो दुईवर्षे कार्यकालमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुल तथा कन्चनगढधाम साधुकुटीका अध्यक्ष ज्ञानु सुवेदीले औचित्यमाथी प्रकाश पार्दै झापा जिल्लाको पूरातात्विक महत्व बोकेको प्राचिन,धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलको रुपमा बाह्रदशी–६ स्थित गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुल कन्चनगढधाम साधुकुटीलाई विकास गर्ने, १०८ शिवलिङ्गसहितको शिवालय निर्माण गर्ने , गुरुकुलको संरक्षण गर्ने , धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘श्रीमद देवीभागवत महापुराण धनधान्याचल ज्ञान महायज्ञ ’ को ‘आयोजना गरिएको बताए ।
हालसम्म मुष्ठीदान, विभिन्न धार्मिक अनुष्ठानमा गरिएको धान्याचल महायज्ञबाट संकलित धान, चन्दादाता र महर्षी वैदिक फाउण्डेशनको सहयोगले सञ्चालन हुँदै आएको गुरुकूल पछिल्लो समय बढ्दै गएको महंगीका कारण खर्च बढेकाले सञ्चालन गर्न समस्या भएकाले महायज्ञको आयोजना गर्नुपरेको बताउँदै उनले यस पुण्यकार्यमा सहभागी हुन सबैलाई आग्रह गरे ।
संस्थाको ३४ औं धार्मिक अनुष्ठान तथा गुरुकुलको १७ औं वार्षिकोत्सव अन्तर्गत श्रीमद देवीभागवत महापुराण धनधान्याचल ज्ञान महायज्ञ ’ को आयोजना गरिएको बताउँदै सुवेदीले गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुलको हालसम्म कुनैपनि अक्षयकोष नरहेकाले खर्च जुटाउन समस्या भएकाले गुरुकुल सञ्चलानार्थ अक्षयकोष स्थापनार्थ, अन्न क्षेत्रका लागी धान तथा जिन्सी संकलन गर्नका लागी महायज्ञ आयोजना गरिएकाले यस पुण्य कार्यमा सहभागी हुन सबैलाई आग्रह गरे ।
कार्यक्रममा प्रमुख कथाबाचक रामानुजदास सन्तोषले झापा जिल्लाकै पुरानो, ऐतिहासिक र पौराणिक महत्व बोकेको बाह्रदशी श्रीमद्भागवतको आठौं स्कन्धमा समेत समाबिष्ट ठाउँ भएकाले यसको विशेष महत्व रहेको बताउँदै यस पुण्यभूमिमा आएर श्रीमद देवीभागवत महापुराणको कथा बाचन गर्न आफूले सौभाग्य प्राप्त गरेको जनाए । कार्यक्रममा १० वटा स्कुलका विद्यार्थीले सास्कृतिक नृत्य, बक्तृत्वकला प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रदेश साँसद छबी चुडाल, बाह्दशी गाउँपालिकाका अध्यक्ष देवेन्द्र चम्लागाईं, उपाध्यक्ष शान्ता शिवाकोटी, पूर्व साँसद हरिबहादुर राजवंशी, लगायतको आतिथ्य रहेको थियो ।
बालाचतुर्दशीको अवसर पारेर मंसीर १२ गतेदेखि १५ गतेसम्म परापुर्वदेखि लाग्दै आएको कन्चन जलढाला धार्मिक वृहत मेला लाग्ने मन्दिुर समितिका सचिव पुष्प भट्टराईले जानकारी दिए ।
कार्यक्रम अघि ‘बाह्दशी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधी, गुरुकुलका प्रमुख गुरुसहित अन्य गुरुहरु, धार्मिक संघसंस्थाका प्रमुख, सामाजिक संघसंस्थाका पदाधिकारीहरु, चन्दादाता, सामाजिक अभियन्ता भजन किर्तन मण्डली, गुरुकुलका बटुक, धामीझाँक्री , विद्यार्थीलगायतको सहभागितामा निस्किएको शोभायात्राले बाह्रदशीका बिहिबारे बजारलगायत विभिन्न स्थानको परिक्रमा गरी महायज्ञस्थल प्रवेश गरेको थियो ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय कथावाचक ईश्वरकृष्ण जी महाराजको सानिध्यमा हुने ‘श्रीमद देवीभागवत महापुराण धनधान्याचल ज्ञान महायज्ञ ’ को प्रमुख कथावाचकमा रामानुजदास सन्तोस र उपबाचकमा पंडित हेमलाल ढकाल रहेका छन् । कार्यक्रमको सञ्चालन विश्वास गौतमले गरेका थिए ।




















