बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापा नेपालको आयोजनामा कात्तिक र मंसिर महिनाको मासिक सांगीतिक काव्यसभासहित ३४ औ.नारायण गोपाल स्मृति दिवस र साहित्यिक संघसंस्था अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ ।
साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा तथा इतिहासविद् सर्जक प्रकाश सायमीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा उपाध्यक्ष हिम्मत नेम्बाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा प्राज्ञ प्राडा देबी नेपाल र टीका पौड्याल दम्पत्तीलाई अभिनन्दन गरिएको थियो भने लोकदोहरी गायिका कोपिला गौतम पण्डितलाई सम्मान र ३३औं विश्व अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका शिक्षक पदमप्रसाद अधिकारीलाई साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठका आदीगुरू च्याङ्ठू मास्टर स्मृति सम्मान पुरस्कार प्रदान गरिएको थियो । अभिनन्दन तथा सम्मान पत्रको बाचन हरिनारायण भट्टराई, डिपी शर्मा र चित्रा पौड्यालले बाचन गरेका थिए।
कार्यक्रममा झापाका कनकाई प्रतिभा प्रतिष्ठान , जयन्द्र प्रसाद प्रसाईं स्मृती साहित्य सेवा कोष , साहित्य संगम आठराई तेह्थुम , कञ्चनजंघा साहित्यिक प्रतिष्ठान ताप्लेजुङ र ईलाम साहित्य संस्कृति कला प्रतिष्ठानलाई संस्थागत अभिनन्दन गरिएको थियो । झापाका कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जीबराज सुबेदी तथा पदाधिकारी, जयन्द्र प्रसाद प्रसाईं स्मृती साहित्य सेवा कोषका अध्यक्ष गोपीकृष्ण प्रसाई तथा पदाधिकारी , साहित्य संगम आठराई तेह्थुमका उपाध्यक्ष अम्बिकादेबी थपलिया र पदाधिकारी, कञ्चनजंघा साहित्यिक प्रतिष्ठान ताप्लेजुङका सल्लाहकार रामचन्द्र दाहाल र ईलाम साहित्य संस्कृति कला प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद गौतम र पदाधिकारीले संस्थागत अभिनन्दन ग्रहण गरेका थिए । उनीहरुको अभिनन्दन पत्र हिम्मत नेम्बाङ, अनिरूद्र ओलीलगायतले बाचन गरेका थिए। अभिनन्दन गरिने साहित्यिक संघसंस्थाको छनौट सल्लाहकार संयोजक राजेन्द्र संग्रौलाले गरेका थिए।
कार्यक्रममा ३४औं नारायण गोपाल स्मृति दिवसको अवसरमा संस्थाका सम्मानित गायक समिर खरेलले
नारायण गोपालका दर्जन बढी कालजयी गीत गाएर दर्शक तथा श्रोताको मन जितेका थिए। गायक खरेललाई गायिका सञ्जीवनी पौड्यालले साथ दिएकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथी इतिहासविद् सर्जक प्रकाश सायमीले गायक खरेलले गाएका नारायण गोपालका दर्जन बढी कालजयी गीतको रचनागर्भको बारेमा जानकारी गराएर अझ प्रष्ट पारेका थिए। उनले नारायण गोपालको जीवनीबारे प्रकाश पार्दै गीतलाई जिबन्तता दिएको बताए। उनले नारायण गोपालको घरको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले नारायण गोपाललाई बर्षमा एकदिन मात्र सम्झने नभएर हरेकदिन सम्झनु पर्ने बताए।
कार्यक्रममा पूर्व अभिनन्दित ब्यक्तित्व प्राज्ञ कोमलप्रसाद निरौलाले साहित्य चौतारी र नारायण गोपालको प्रशंसा गर्दै बुझ्नै सकेनौ तिमीले गाएका थिए। अभिनन्दित ब्यक्तित्व प्राज्ञ प्राडा देवीप्रसाद नेपालले आफूलाई अभिनन्दनले देवी दुर्गाको आशीर्वाद प्राप्त भएको बताउंदै साहित्य चौतारीलाई कबितात्मक शुभकामना दिएका थिए।
कार्यक्रममा प्राज्ञ सुमित्रा बाङ्देल चेलीले साहित्य चौतारीले गर्दा आफूलाई यो अवस्थासम्म ल्याई पुर्याउन ठूलो सहयोग गरेको बताइन्। कार्यक्रममा कबि रतन बमजनले बाचन गरेको धन्यवाद पत्र कार्यक्रमका प्रमुख अध्यक्ष श्रेष्ठले प्रमुख अतिथी सायमीलाई प्रदान गरेका थिए।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए।




















