बिर्तामोड । सरगम संगीतालय बिर्तामोड झापाको आयोजनामा  ३४ औं नारायण गोपाल स्मृति दिवस मनाइएको छ ।
संस्थाका सल्लाहकार नारायण राजवंशीको अध्यक्षता तथा गायक तथा संगीतकार मानसिंह थुलुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सल्लाहकार कृष्ण मिश्रले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सरगम संगीतालयका संस्थापक दिपक रायमाझीले औचित्य माथी प्रकाश पारेका थिए।
उनले  गत तिहारमा देउसीभैलो खेलेर त्यसबाट बचत रकमबाट ५१ हजार रूपैयाँको कलाकार उपचार अक्षयकोष स्थापनाको घोषणा गरेका थिए। 

कार्यक्रममा  कैलाशेश्वर शिवालय मन्दिर समितिले कलाकार उपचार अक्षयकोषमा रकम प्रदान  गरेको थियो ।
कार्यक्रममा  तबला बादक देवासिस भट्टाचार्यलाई अभिनन्दन गरिएको थियो  भने उनकी श्रीमती माधबी भट्टाचार्यलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा  सरगम संगीतालयका बिध्यार्थीहरूले नारायण गोपालका कालजयी गीत गाएर दर्शक र श्रोतालाई मन्त्रमुग्ध पारेका थिए । कार्यक्रममा साहित्य कला संस्थान तीनधारेका दार्जिलिङका महासचिव सन्तोष लामा योञ्जन, उपमेयर नगेन्द्रप्रसाद संग्रौला, देबी पञ्चकन्या टोल बिकास संस्थाका अध्यक्ष  रमणदास सिटौला र कैलाशेश्वर शिवालय मन्दिरका अध्यक्ष  जनक खड्कालगायतले शुभकामनासहित मन्तव्य  राखेको  ज्येष्ठ बिध्यार्थी लीला खत्री खतिवडाले  जानकारी दिए।
नृत्यसमेत प्रस्तुत गरिएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोल र मदन आश्रित चुडालले गरेका थिए।