बिर्तामोड । झापाको बिर्तामोडस्थित विराट-अर्जुन उपभोक्ता सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष नबीन खरेलको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका सहसचिव कृष्ण मिश्रको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष नबीन खरेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाको शेयर पुँजी १ करोड १२ लाख ६ हजार ९ सय रूपैयाँ , निक्षेप २ करोड ४९ लाख ८९ हजार ३ सय २५ रुपैयाँ लगानीमा रहेको कर्जा २ करोड ७७ लाख २५ हजार ७ सय ५३ रूपैयाँ र शेयर सदस्य १ हजार ५ सय ८४ जना रहेको प्रतिवेदनमा उल्लेख छ।
कार्यक्रममा आफ्नी आमा स्व नरमाया खरेलको स्मृतिमा छोराबुहारी नवीन खरेल र उषा खरेलले स्थापना गरेको स्व.नरमाया खरेल स्मृति शिक्षाकोषबाट अनुष्का चौधरी र राजु हस्दालाई पुरस्कृत गरिएको थियो । सामुदायिक विद्यालयमा अध्ययनरत शेयर सदस्यका छोराछोरीमध्ये जेहेन्दार छात्रछात्रालाई शैक्षिक प्रोत्साहनका लागि कोषमार्फत् सहयोग गरिँदै आएको संरक्षक नवीन खरेल र उषा खरेल बताउँछन्।
कार्यक्रममा विराट बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख रुद्र सिटौला, कर्णाली बचत तथा ऋण सहकारी संस्थाकी सञ्चालक सदस्य भावना घिमिरे र विराट-अर्जुन उपभोक्ता सहकारीकी सल्लाहकार सदस्य कल्पना बुढाथोकीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव डिल्लीराम प्रसाईंले गरेका थिए ।
सोही कार्यक्रममा संस्थाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण पनि गराइएको थियो। कार्यक्रममा निर्वाचन अधिकृत डिल्ली दाहालले सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष नवीन खरेल, उपाध्यक्ष दिपेश प्रसाईं, सचिव लक्ष्मीप्रसाद खरेल, सहसचिव ईश्वरीप्रसाद काफ्ले, कोषाध्यक्ष कृष्णप्रसाद कुइँकेल, सदस्यहरु एकराज प्रधान, रुद्र प्रसाद नेपाल, खेमबहादुर बस्नेत, शारदा सिटौला, टंकप्रसाद गौतम, राजेश दाहाल , लेखा सुपरीवेक्षण समिति संयोजक मालिकलाल राजवंशी र सदस्यहरु देवेन्द्र मैनाली र खगेन्द्रप्रसाद चापागाईंलाई शपथ ग्रहण गराएका थिए।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नवीन खरेलले संस्थाले शेयर सदस्यको हितमा काम गर्ने प्रतिबद्धता निर्वाचन जनाएका थिए । कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य पुष्प बरालले गरेका थिए।




















