बिर्तामोड। झापाको बिर्तामोड –४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिले २५औं स्थापना दिवस तथा रजत महोत्सव शुभारम्भ कार्यक्रममा ज्येष्ठ शेयर सदस्यलाई सम्मान तथा उत्कृष्ठ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । 
संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महातारा प्रसाईंको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उपाध्यक्ष रामकुमार गौतमले  स्वागत गरेका थिए । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिले २५औं स्थापना दिवस तथा रजत महोत्सव शुभारम्भमा  
 कर्णाली साकोसको रजत वर्षको लोगो सार्वजनिक गरिएको थियो । 
कार्यक्रममा कर्णाली साकोसको  सेयर सदस्य बनेर १० वर्षदेखि नियमित कारोबार गरिरहेका ७० वर्ष उमेर पार गरेका २५ जना ज्येष्ठ सदस्यहरुलाई जनही ३ हजार रुपैयाँ  र दोसल्ला प्रदान गरी सम्मान गरिएको थियो ।  यो वर्ष संस्थामा यस्ता सदस्यहरुको संख्या ६४ जना रहेको भएपनि बिर्तामोड आसपासका २५ जना ज्येष्ठ सदस्यहरुलाई उक्त रकम प्रदान गरी सम्मान गरिएको बताइएको छ । 
त्यसैगरी कर्णाली साकोसले संस्थाका सेयर सदस्यका छोराछोरीमध्ये २०८० सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने १०० जना विद्यार्थीलाई जनही ५ हजार रुपैयाँको छात्रवृत्ति प्रदान गर्नेक्रममा २५ जनालाई छात्रवृत्ति  हस्तान्तरण गरिएको छ । हरेक वर्ष दामासाहीले प्रदान गर्दै आएको ५ लाख रुपैयाँ छात्रवृत्ति रकम यो वर्ष १०० जना विद्यार्थीलाई ५ हजार रुपैयाँका दरले प्रदान गरिने संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले बताए । 
संस्थाका अध्यक्ष श्रेष्ठले २५ वर्षअघि कर्णाली साकोस स्थापना गर्दा भोगेका तीतामिठा अनुभवहरु सुनाएको कार्यक्रममा प्रमुख अतिथि प्रसाईंलेकर्णाली साकोसले  अत्यन्त राम्रा कामहरु गरिरहेको बताउँदै सदस्य परिवारमा जन्मदेखि मृत्युसम्मको साथी बनेकोमा शुभकामना दिइन् । कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले कर्णाली साकोसले सहकारी अभियानमा अग्रणी भूमिका खेलेको बताए । उनले कर्णाली साकोसलाई रजत वर्षमात्र होइन स्वर्ण वर्ष मनाउन शुभकामना दिए । 
कार्यक्रमको सञ्चालन संस्थाका सचिव भूपाल वस्नेतले गरेका थिए ।