बिर्तामोड। बिर्तामोड ३स्थित पञ्चकन्या महिला बहुद्देश्यीय सहकारी संस्थाको २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ।
संस्थाकी अध्यक्ष यादबकुमारी तिम्सिनाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सदस्य गिता निरौलाले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुवास भट्टराई, सहकारी अभियन्ता डिल्ली दाहाल, बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी लगायतले महिलाले सञ्चालन गरेको सहकारी उत्कृष्ट र सफल रहेको बताउँदै पञ्चकन्या महिला बहुद्देश्यीय सहकारी संस्थालाई शुभकामना दिएका थिए।
कार्यक्रममा ज्येष्ठ नागरिक रूक्मिणा ओली,उत्कृष्ट बचतकर्ता राधिका गिरी, असल ऋणी निर्मला थापालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष तिम्सिनाले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
संस्थामा शेयर सदस्य ५ सय ६५ जना, शेयर पूॅजी १ करोड २३ लाख ३५ हजार ६ सय, निक्षेप २ करोड ७ लाख ६६ हजार ३ सय ८९ रूपैया ४५ पैसा, ऋण लगानी २ करोड ९५ लाख ७१ हजार २ सय ३२ रूपैयाँ,आम्दानी ८६ लाख २५ हजार ४ सय१० , खर्च ६९ लाख ९ हजार ३ सय ७७ र नाफा १० लाख ९६ हजार ३ सय ५१ रूपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।
कार्यक्रममा लेखा सुपरिवेक्षण समिति संयोजक दुर्गादेबी चुडालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रमको सञ्चालन संस्थाकी उपाध्यक्ष नैनकला ढकालले गरेकी थिइन् ।




















