बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि नेपालकै तेस्रो लामो तथा कोशी प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुल बिहीबारबाट सञ्चालनमा आएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं.७ को वडा कार्यालय नजिकै टिमाई खोलामाथी निर्माण गरिएको ‘कोलबुङ–रमिते गौडा झोलुंगे पुल’को झापा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक कार्यक्रमका बीच उद्घाटन गरे ।
२०८१ साल असार २४ गते कोलबुङ–रमिते गौडा झोलुंगे पुलको शिलान्यास गरेका झापा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले छ महिनामै झोलुंगे पुलको निर्माण सम्पन्न भएपछि बिहीबार उद्घाटन समेत गरे ।
संघीय सरकारको ५ करोड ९८ लाख ८१ हजार ७ सय ६१ रुपैया ३५ पैसाको लागतमा काठमाडौंको थानी जगदम्बा जेभीले २०८३ साल जेठ २३ गतेसम्म उक्त झोलुंगे पुलको निर्माण सम्पन्न गर्ने सम्झौता गरेकोमा छ महिनामै झोलुंगे पुलको निर्माण सम्पन्न गरेकोमा कार्यक्रममा सहभागीले निर्माण कम्पनिको खुलेरै प्रशंसा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका साँसद शर्माले झापाको बुद्धशान्ति गाउँपालिकाले नेपालकै तेस्रो लामो तथा कोशी प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गरेर झापाको गौरव बढाएको बताए । उनले वर्षौदेखि आवागमनमा सकस भोगिरहेका बुद्धशान्तिको वडा नं. ६ र ७ का बासिन्दा मात्र नभएर इलामको कृषि उत्पादन झापामा ल्याएर विक्री गर्न समेत झोलुङ्गे पुलको निर्माणले सहज भएको बताए ।
उनले दुई वडाका वासिन्दाहरुको आवतजावतको लागि झोलुङ्गे पुलले सहज मात्र नबनाएर यहाँका वासिन्दाको जीवनस्तर उकास्ने बताउँदै झोलुङ्गे पुलले गर्दा पर्यटकको संख्यामा वृद्धि हुनुका साथै यहाँको व्यापार व्यवसायसमेत फस्टाउने जनाए । आफू जनताको रिन तिर्न आएको बताउँदै आफूले निर्वाचनताका गरेका प्रतिवद्धता पूरा गर्न आफू लागीपरेको बताए । जनप्रतिनिधीले दलगत स्वार्थभन्दा माथी उठेर देश र जनताका लागि काम गर्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापाले बुद्धशान्ति गाउँपालिकाले कोशी प्रदेशमै नमूनायोग्य काम गरेको बताउँदै नेपालकै तेस्रो लामो तथा कोशी प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गरेर विकासपथमा आफूलाई अव्वल सावित गरेको जनाए ।
कोशी प्रदेशमा स्थीर सरकार नहुँदा विकास निर्माणलगायतका काम अघि वढ्न नसकेको बताउँदै अव दुई ठूला दलहरु मिलेर स्थायी सरकार बनेकाले अधुरा विकास निर्माणका काम पूरा हुने तथा नयाँ आयोजनाहरु सञ्चालन हुने जनाए ।
कोशी प्रदेश साँसद तथा पूर्व मन्त्री निर्मला तावा, साँसद सविना वजगाईंले झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि नेपालकै तेस्रो लामो तथा कोशी प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण भएकोमा खुशी व्यक्त गर्दै यसको संरक्षण गर्न जरुरी रहेको बताए । उनीहरुले वूद्धशान्तिका वासिन्दाले अब पुलको अभावमा कष्टकर जीवन विताउनु नपर्ने बताउँदै पुल निर्माणले आवतजावत सहज बनाएको बताए ।
मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले झापामा विकासको मूल फुटेको बताउँदै जनप्रतिनिधीले साथ दिँदा गाउँ गाउँमै सिंहदरबार आउने जनाए ।
रोङ गाउँपालिकाका अध्यक्ष सुवास तामाङले झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि नेपालकै तेस्रो लामो तथा कोशी प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण भएर रोङ गाउँपालिका वडा नं. ५ र ६ का बासिन्दालाई आफ््नो कृषि उपज झापाको बजारमा पुर्याउन समेत सुविधा पुगेको बताए । उनले पुल निर्माणले आवतजावतमा सहज बनाएको बताए ।
स्थानीय पूर्वाधार विकास विभागको सस्पेन्सन ब्रिज डिभिजनका पूर्व महानिर्देशक कुमार थापाले बुद्धशान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि नेपालकै तेस्रो लामो तथा कोशी प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुलको भारवहन क्षमता ९० मेट्रिक टन रहेको तथा पुलले एकपटकमा ६ सय ४७ पदयात्रीको भार थेग्ने क्षमता रहेको बताए । कुनैपनि भौतिक पूर्वाधारको निर्माण छिटो हुने कि ढिलो हुने भन्ने कुरा निर्माण व्यवसायीको कामको गति र इमान्दारीतामा निर्भर हुने बताउँदै उनले ठेकेदारको अटेरी प्रवृत्तिका कारण कतिपय भौतिक पूर्वाधारको निर्माणको काम ढिलो हुने जनाए । सबैको सहयोग हुने हो भने विकास निर्माणका काम समयमै पूरा हुने उनको भनाई छ ।
बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले ‘कोलबुङ–रमिते गौडा झोलुंगे पुल’ कोशी प्रदेशको सबैभन्दा लामो र नेपालको तेस्रो लामो ‘डी– आकृतिको’को झोलुंगे पुल रहेको बताउँदै यसले वुद्धशान्तीको पर्यटन प्रवद्र्धनमा मधत पुग्ने बताए ।
उनले झोलुङ्गे पुल सञ्चालनमा आएपछि बुद्धशान्ति गाउँपालिकाका दुई वटा वडाहरुलाई मात्रै जोड्ने नभइ यसले त्यहाँका वासिन्दाको जीवनस्तर उकास्ने बताए ।
बुद्धशान्ति गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष शिवराज पौडेलले दुई वर्षमा बनिसक्ने भनिएको झोलुंगे पुल छ महिनामै निर्माण निर्माण कार्य सम्पन्न गरेर ठेकेदारले बुद्धशान्तिवासीको मन जितेको जनाए ।
वडाध्यक्ष शिवराज पौडेलले ‘कोलबुङ–रमिते गौडा झोलुंगे पुल’ बनेपछि बुद्धशान्तिका वडाबासीलाई आउजाउका लागि मात्र नभएर आफ््नो कृषि उपज बजारमा पुर्याउन समेत सुविधा पुगेको बताए ।
बुद्धशान्ति गाउँपालिका वडा नं ७ का अध्यक्ष चन्द्र भण्डारीले निर्माण अवधि अघि नै झोलुंगे पुल निर्माण सम्पन्न गरेकोमा ठेकेदारलाई धन्यवाद दिँदै यसले निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको जनाए ।
झोलुंगे पुल निर्माण हुनु अघि बुद्धशान्तिको वडा नं. ६ बाट बुद्धशान्तिको वडा नं. ७ जान स्थानीयबासीले ठूलो सकस भोग्दै आएकोमा अब झोलुंगे पुल निर्माण भएपछि त्यो समस्या हटेर आवागमन सहज हुने उनले बताए । ‘कोलबुङ–रमिते गौडा झोलुंगे पुल’ सञ्चालनमा आएसंगै त्यहाँ आन्तरिक तथा वाह्य पर्यटकको भीड हुन थालेको बताउँदै उनले त्यसले बुद्धशान्तिलाई विश्वमाझ चिनाएको जनाए ।
कार्यक्रममा ‘कोलबुङ–रमिते गौडा झोलुंगे पुल’ निर्माणका लागी जग्गा उपलव्ध गराउने जग्गादाताहरु कुन्तीदेवी कार्की, खगेन्द्रप्रसाद गड्तौला, निर्माण व्यवसायी , इञ्जििनियर, पुल निर्माण गर्ने श्रमिकलगायतलाई सम्मान गरिएको कार्यपालिका सदस्य दिनेश लेप्चाले बताए ।
‘कोलबुङ–रमिते गौडा झोलुंगे पुल’ निर्माण भएकोमा त्यस क्षेत्रका वासिन्दाले खुशी व्यक्त गरेका छन् । उनीहरुले बल्ल गाउँमा सिंहदरबार आएको अनूभूति भएको जनाएका छन् ।




















