बिर्तामोड। श्री श्री ठाकुर अनुकूलचन्द्रको शुभ १३७औं जन्म महामहोत्सव तथा दोस्रो नेपाल राष्ट्रिय उत्सव बिर्तामोडमा हुने भएको छ।
सत्संग नेपालको आयोजना तथा सत्संग मन्दिर बैशावाडीको संयोजनमा शुक्रबार र शनिबार वाल्मिकी एजुकेसन फाउन्डेसन बिर्तामोडमा उत्सवस्थल राखिएको छ।
शुक्रबार वेलुकी संगीत सभा, विनती प्रार्थना, आनन्द वजार, शनिबार व्रम्हमुहुर्तमा वेदमांगलिकी पाठ,उषा किर्तन, सामूहिक प्रातकालिन विनती प्रार्थना एवम् ग्रन्थादी पाठ, शोभा यात्रा, मध्यान्ह धर्मसभा आरम्भ, मातृ सम्मेलन,  संगीत सभा, सामूहिक सन्ध्याकालिन विनती प्रार्थना एवम् ग्रन्थादी पाठ र मन्दिरमा दीप प्रज्वलन गरी कार्यक्रम समापन गरिने भएको छ ।
शनिबार हुने शोभायात्रामा बिभिन्न जातजातिका झाँकीसहित हजारौं दिक्षितहरूको सहभागिता रहने कार्यक्रम संयोजक सुमन शर्मा जमरकट्टेलले बताए।
श्री श्री ठाकुर अनुकूलचन्द्रको शुभ १३७औं जन्म महामहोत्सव तथा दोस्रो नेपाल राष्ट्रिय उत्सवमा देश तथा बिदेशका गरी दुई हजार भक्तजनलाई बस्न र खानका लागि बुकिङ गरिएको र करिब तीन हजारभन्दा बढी आउने सम्भावना रहेको उनले बताए।  देश तथा बिदेशबाट दोस्रो नेपाल राष्ट्रिय उत्सवमा सहभागीलाई खाना र बस्नको प्रवन्ध मिलाइसकिएको आवास संयोजक  मोहन शिलवालले बताए।  सत्संग नेपालका अध्यक्ष कृष्णप्रसाद सिटौलाले  धार्मिक कार्यक्रमका माध्यमबाट सहिष्णुता भाइचारा, बन्धुत्व कायम राख्न राष्ट्रिय उत्सव सफल हुने बताए । २ बर्षअघि प्रथम राष्ट्रिय उत्सव बिरगञ्जमा भएको बताउँदै  उनले दोस्रो राष्ट्रिय उत्सव झापामा भब्य रुपमा सम्पन्न गर्न आफूहरू लागीपरेको बताए। २०४२ सालमा बिराटनगर र झापाको बैशावाडीमा ठाकुर मन्दिर स्थापना भएको बताउँदै उनले देशभर २० वटा केन्द्रहरु रहेको  जानकारी दिए । दोस्रो राष्ट्रिय उत्सव झापामा भइरहेको रगतको अभाव टार्न रक्तदान कार्यक्रमसमेत राखिएको  रक्तदान कार्यक्रम संयोजक विष्णुप्रसाद आचार्यले जानकारी दिए ।  कार्यक्रममा सहभागी गोपालकुमार बस्नेतले झापामै पहिलो पटक  आयोजना गरिएको श्री श्री ठाकुर अनुकूलचन्द्रको शुभ १३७औं जन्म महामहोत्सव तथा दोस्रो नेपाल राष्ट्रिय उत्सवमा सहभागी हुन सबैलाई आग्रह गरेका छन्
कार्यक्रममा दिनेश शाक्य, डीबी कार्की, देवी निरौला बस्नेत, कुमार याक्सो, रोषन बस्नेतलगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक सुमन शर्मा जमरकट्टेलले गरेका थिए ।