बिर्तामोड । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक बिर्तामोड शाखाले एमिटी एजुकेशन फाउण्डेसन बिर्तामोडका बिद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।
नेपाल राष्ट्र बैंकको ग्लोबल मनी विकको अवसर पारेर एमिटी एजुकेशन फाउण्डेसन बिर्तामोडका कक्षा ११, १२ र बीबीएसमा अध्ययनरत् एक सय जना भन्दाबढी बिद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक बिर्तामोडका शाखाका रिलेसनसीप म्यानेजर प्रमोद ढकालले बताए।
कार्यक्रमको सहजीकरण नेपाल इन्भेष्टमेण्ट मेगा बैंक बिर्तामोडका शाखा प्रवन्धक दिनेश पनेरुले गरेका थिए ।
बिर्तामोड शाखा प्रवन्धक दिनेश पनेरुले बिद्यार्थीहरुलाई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सेवा सुविधा,बचत तथा लगानीको महत्त्व, लगानी प्रक्रिया तथा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, डिजिटल बैंकिङ, डिजिटल बैंकिङ फ्रड र त्यसको सावधानीका उपायहरु, शेयर बजार, SIP लगायतका विविध विषयमा वित्तीय साक्षरता प्रदान गरेको बिर्तामोड शाखाका अपरेसन ईञ्चार्ज सुरज सुबेदीले जानकारी दिए ।
कार्यक्रममा एमिटी एजुकेशन फाउण्डेसन बिर्तामोडका प्रिन्सिपल आरएस ढकालले विद्यार्थीलाई नेपाल इन्भेष्टमेण्ट मेगा बैंक बिर्तामोडका शाखाले वित्तीय सारक्षता प्रदान गरी बैंकिङ सेवा सुविधाबारे वुझ्ने अवसर दिएकोमा बैंकलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले वित्तीय साक्षरता प्राप्त गरेर बैंकिङ सेवा सुविधाबारे बुझ्ने मौका पाएको बताउँदै यसलाई ब्यबहारमा उतार्ने बताएका थिए।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले यसअघि बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण लगायतका विषयमा विभिन्न जिल्लामा विद्यार्थी, व्यवसायी, लगायतलाई वित्तीय साक्षरता कार्यक्रम गरिसकेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक बिर्तामोड शाखाकी अपरेसन बिभागकी कर्मचारी पुजा शाहले जानकारी दिइन् ।




















