बिर्तामोड। बिर्तामोड उद्योग वाणिज्य संघको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष राजु न्यौपानेको अध्यक्षता तथा नेपाल  उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका राजेन्द्र राउतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे राजुले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा अध्यक्ष न्यौपानेले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने बिर्तामोड उद्योग बाणिज्य संघले गरेको कार्यक्रम तथा गतिबिधीलाई श्रव्यदृश्य मार्फत प्रस्तुत गरिएको थियो।
कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघले लगाएको बिर्तामोड औद्योगिक व्यापार महोत्सवको मुख्य प्रायोजक एपोलो पेन्ट्सलाई सम्मान गरिएको थियो। उक्त सम्मान एपोलो पेन्ट्सको आधिकारिक बिक्रेता एपोलो कलर हाउस बिर्तामोडका सञ्चालक डिल्लीराम कोइरालाले ग्रहण गरेका थिए।
सोही कार्यक्रममा अग्रज व्यवसायी गणेश मादेनलाई नगद ११ हजार , सम्मान पत्र, दोसल्लाबाट सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित ब्यक्तित्व मादेनले आफूले प्राप्त गरेको नगद ११ हजार बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायिक राहत कोषमा हस्तान्तरण गरेका थिए।
कार्यक्रममा नेपाल उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य  नविन  रिजाल, नरेन्द्र खड्का,  बिर्तामोड उद्योग बाणिज्य संघका  पूर्व अध्यक्ष कुमार भट्टराई, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी , प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाँई, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, महिला सूरक्षा दवाव समूहकी अध्यक्ष शारदा  ढकाल रिजाललगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले गरेका थिए।