बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका वडा नं. ६ मा रहेको डाँगीवारी स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर स्थापना भएपछि त्यस क्षेत्रका वासिन्दालाई स्वास्थ्य चौकीमा ल्याएर प्रसूती गराउन सहज भएको छ ।
आदिवासी जनतातिको बाहुल्य रहेको त्यस क्षेत्रसहित अन्य क्षेत्रका वासिन्दाहरुलाई सहज र सरल रुपमा प्रसूती सेवा लिन डाँगीवारी स्वास्थ्य चौकीमा सहज भएको डाँगीवारी स्वास्थ्य चौकीका प्रमुख हेमन्त लामिछानेले जानकारी दिए । २०७७ साल असोजदेखि वर्थिङ सेन्टर सञ्चालनमा आएदेखि त्यस क्षेत्रका वासिन्दा प्रसूती सेवा लिनका लागि अन्यत्र जानु नपरेको उनको भनाइ छ ।
वर्थिङ सेन्टर सञ्चालनमा आएपनि नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र अल्पताप (हाइपोथर्मिया) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्मर (न्यानो नानी) मेसिन नहुँदा भने समस्या हुने गरेको उनको भनाइ छ । ग्रामीण क्षेत्र भएकाले नवजात शिशु जन्मने वित्तिकै शिशुको शारीरिक तापक्रम उचित राख्न वेवी वार्मर मेसिनको प्रयोग गर्नु पर्ने, त्यसो नगर्दा भने शिशुको ज्यानै जान सक्ने अवस्थाको पीडा आमा र अभिभावकले भोग्नु पर्ने बाध्यता रहेको उनले बताए ।
आमाको पेटबाट शिशु जन्मिने वित्तिकै बाह्यी वातावरणसँंग घुलमिल गराउन तापक्रम व्यवस्थापनका लागि बेबी वार्मर मेसिनको प्रयोग नगर्दा नवजात शिशुको जीवन जोखिममा पर्ने भएकाले त्यस्तो अवस्थामा आफूहरुले तुरुन्तै अस्पताल रिपफर गर्दा त्यसले झन् अप्ठ्यारो परिस्थिति सिर्जना गर्ने उनले बताए ।
यसैबीच इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउन र भारतको इनरह्वील क्लब अफ शिलगढी उत्तरायनले बाह्दशी गाउँपालिका –६ डाँगीवारीमा रहेको डाँगीवारी स्वास्थ्य चौकीलाई रेडियन्ट वेवी वार्मर मेसिन प्रदान गरेका छन् ।
इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी इमिडेट पास्ट प्रेसिडेन्ट मोनिका अग्रवालको अध्यक्षता तथा इनरह्वील डिस्ट्रीक ३२४ चेयरमेन अनन्दीता देवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा इनरह्वील डिस्ट्रीक ३२४ चेयरमेन अनन्दीता देवले इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउन र भारतको इनरह्वील क्लब अफ शिलगढी उत्तरायनबीच भावात्मक सम्बन्ध कायम भएको र यी दुबै क्लवबीचको सहकार्यबाट वेवी वार्मर मेसिन प्रदान गरिएको बताइन् । उनले सुविधायुक्त बेबी वार्मर मेसिनले डाँगीवारी स्वास्थ्य चौकीमा जन्म लिएका नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न थप मद्दत पुर्याउने बताइन् ।
इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी पास्ट प्रेसिडेन्ट सम्झना भण्डारीले ग्रामीण क्षेत्रमा यस प्रकारको कार्य गर्न पाएकोमा खुशी व्यक्त गरिन् । उनले यस क्षेत्रका शिशुको स्वास्थ्य अवस्था सुधारका लागि वेवी वार्मर मेसिन लिएसँंगै ठूलो सहयोग पुग्ने बताइन् ।
बाह्दशी गाउँपालिका –७ का वडाध्यक्ष मित्रराज भट्टराईले इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउन र भारतको इनरह्वील क्लब अफ शिलगढी उत्तरायनले डाँगीवारी स्वास्थ्य चौकीलाई प्रदान गरेको वार्मर मेसिन बाह्रदशीवासीलाई बरदान सावित हुने विश्वास व्यक्त गरे । नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने उक्त मेशिनबाट बाह्रदशीसंँगै आसपासका पालिकाहरुबाट समेत डाँगीवारी स्वास्थ्य चौकीमा प्रसूती सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुने बताए ।
सोही कार्यक्रममा १० जना गर्भवती महिलालाई पोषणयुक्त सामग्री वितरण गरिएको थियो ।
डाँगीवारी स्वास्थ्य चौकीका प्रमुख हेमन्त लामिछानेले वेवी वार्मर मेसिन नवजात शिशुहरूका लागि प्रयोग गरिने चिकित्सा उपकरण भएको बताउँदै यसको मुख्य उद्देश्य शिशुको शरीरको तापमानलाई सन्तुलनमा राख्नु रहेको जनाए । नवजात शिशुहरूको शरीरले जन्मपछि केही समयसम्म आफ्नो तापमानलाई आफैं स्थिर राख्न नसक्ने र त्यसको कारण उनीहरूलाई हाइपोथर्मिया शरीरको तापक्रम धेरै घट्नु) हुने भएकाले उनीहरुलाई यस्ता समस्याबाट जोगाउन बेबी वार्मर मेसिनको प्रयोग गरिने जानकारी दिए ।
उनले भने –बेबी वार्मर मेसिन एक प्रकारको रेडियण्ट हीटिङ उपकरण हो र जसले नवजात शिशुको शरीरमा तातो प्रवाह गराउँछ । यो मेसिन शिशुलाई आरामदायी तापक्रममा राखेर उनको स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ । यो उपकरण विशेष गरी नवजात शिशुहरूलाई जति सक्दो तुरुन्तै तातो र सुरक्षित वातावरणमा राख्न प्रयोग गरिन्छ, जुन विशेष गरी असामान्य अवस्थामा जन्मिएका शिशुहरूका लागि (जस्तै समयअघि जन्मिएका शिशुहरू) निकै महत्वपूर्ण छ ।
इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट जुनु बिमली उप्रेतीले इनरह्वील क्लव अफ शिलगढी उत्तरायनसँग मिलेर डाँगीवारी स्वास्थ्य चौकीलाई बेवी वार्मर मेसिन प्रदान गरिएको बताउँदै त्यसको भरपुर सदुपयोग गर्न बाह्रदशीवासीलाई आग्रह गरिन् ।
संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्दै उक्त कार्य गरेको बताउँदै उनले आगामी दिनमा समेत थप स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् ।
कार्यक्रममा इनरह्वील क्लब अफ शिलगढी उत्तरायनकी प्रेसिडेन्ट स्वेता अग्रवालको नेतृत्वमा पदाधिकारीहरूको सहभागिता रहेको थियो । त्यस्तै इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउन र इनरह्वील क्लब अफ अर्जुनधाराका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका इमिडेट पास्ट प्रेसिडेन्ट सिद्धार्थ नवीन उप्रेतीले गरेका थिए ।




















