बिर्तामोड। झापा जिल्ला खेलकुद विकास समितिको आयोजना,प्रदेश खेलकुद विकास बोर्डको संयोजन, झापा जिल्ला बक्सिङ संघको प्राविधिक सहयोग र अर्जुनधारा नगरपालिकाको बिशेष सहयोगमा तेस्रो कोशी प्रदेश स्तरीय वक्सिङ प्रतियोगिता शुभारम्भ भएको छ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्तको अध्यक्षता तथा कोशी प्रदेशका खानेपानी, सिञ्चाई तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्तले स्वागतसहित औचित्यमाथी प्रकाश पारेका थिए।
कार्यक्रममा नेपाली काँग्रेस अर्जुनधारा नगर सभापति हेमराज खरेल, अर्जुनधारा नगर प्रमुख वलदेवसिंह गोम्देन, नेपाल बक्सिङ महासंघका पुस्करराज पन्तलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा झापासहित ११ जिल्लाका खेलाडीहरूको सहभागिता रहेको झापा जिल्ला बक्सिङ संघका अध्यक्ष युवराज खड्काले बताए।
कार्यक्रमको सञ्चालन कृती राईले गरेकी थिइन्।
यसअघि झापा जिल्ला बक्सिङ संघको आयोजनामा राष्ट्रियस्तरको बक्सिङ रेफ्री तथा जज तालिम सुरु भएको थियो ।झापा जिल्ला बक्सिङ संघका अध्यक्ष युवराज खड्काको अध्यक्षतामा भएको तालिमको उद्घाटन झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्तले गरेका थिए।
झापाका चारजना महिलासहित २५ जना बक्सिङ प्रशिक्षकहरुको सहभागिता रहेको तालिममा मुख्य प्रशिक्षक आइटिओ पुष्करराज पन्तले तालिमको औचित्यमाथि प्रकाश पार्दै सहजीकरण गरेका थिए।
कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भण्डारी, अर्जुनधारा ८ का वडा अध्यक्ष तथा करातेका अन्तर्राष्ट्रि रेफ्री कुमार उप्रेतीलगायतले शुभकामना दिएको अध्यक्ष खड्काले बताए। तालिमको समापन तथा बिजेता खेलाडीलाई ट्रफी,मेडल र प्रमाणपत्र शनिबार प्रदान गरिने उनले बताए।




















