बिर्तामोड। श्री वैदिक सनातन धर्म संरक्षण समिति बिर्तामोड नगर समितिको आयोजनामा रक्तदान तथा निशुल्क दन्त शिविर आयोजना गरिएको छ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष पंडित मोहनकुमार घिमिरेले बताए।
नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको थियो भने जी एण्ड डी कञ्चनजंघा डेन्टल केयर बिर्तामोडको प्राविधिक सहयोगमा निशुल्क दन्त शिविर आयोजना गरिएको थियो।
कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए भने एक सय २० जनाले दन्त परिक्षण गराएको अध्यक्ष घिमिरेले बताए।
संस्थाका अध्यक्ष पंडित मोहनकुमार घिमिरेको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोषाध्यक्ष चन्द्रप्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथी प्रसाई, श्री वैदिक सनातन धर्म संरक्षण केन्द्रीय समिति उपाध्यक्ष अग्नीप्रसाद सिग्देल, केन्द्रीय प्रवक्ता पं आशुतोष खनाललगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा श्री वैदिक सनातन धर्म संरक्षण केन्द्रीय समितिका केन्द्रीय अध्यक्ष राम ओझा, केन्द्रीय महासचिव खगेन्द्र निरौला, बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलसहित बिभिन्न विद्यालयका संस्थापक, अध्यक्ष,प्रधानाध्यापक, संस्थाका पदाधिकारीहरू लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन बिर्तामोड नगर सदस्य कमल खनालले गरेका थिए।




















