बिर्तामोड। गोर्खा फाउण्डेसन नेपाल बिर्तामोड झापाले वरिष्ठ संगीतकार रञ्जित गजमेर र शिक्षासेवी जयनारायण ढुंगानालाई विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान गर्ने भएको छ।
आगामी जेठ ३१ शनिबार बिर्तामोडको सिटीसेन्टरमा उक्त कार्यक्रम गरिने भएको गोर्खा फाउण्डेसन नेपालका अध्यक्ष वीरू दर्नालले बताए।
यसबर्षदेखि झापाका पाॅच जना विभिन्न विधाका व्यक्तित्वलाई समेत सम्मान गरिने उनले बताए।
गीत संगीत साहित्य तथा शिक्षा क्षेत्रबाट हस्त परियार, झापाबाट पहिलो रेफ्री श्याम दनुवार, पत्रकारिता पर्वत पोर्तेल, कलाकार चलचित्र नायक सुवास मेचे, झापाकी पहिलो महिला अटो मेकानिक नीरू परियारलाई समेत सम्मान गरिने उनले बताए।
यसबर्ष यो कार्यक्रम भव्य बनाउने बताउँदै उनले यस कार्यक्रममा दार्जिलिङबाट मारूनी नाच र मादल टोली समेत सहभागिता रहने जनाए।
झापाका २५ वटा सामाजिक संघसंस्थाहरूको सहकार्य गरेर यो कार्यक्रम सम्पन्न गरिने उनको भनाई छ। कार्यक्रममा अध्यक्ष वीरू दर्नाल, महासचिव सुवास तिखत्री, सदस्य राजकुमार शिवा, कार्यक्रम संयोजक रोषन नेपाली, प्रमुख सल्लाहकार नगेन शंकरलगायतले सम्मान कार्यक्रम सफल बनाउने बताए। उनीहरुले कार्यक्रममा सहभागिता जनाउन सबैलाई आग्रह समेत गरेका छन्।
गोर्खा फाउण्डेसनले यसअघि तुलसी घिमिरे, राजेश हमाल, सिता परियार, भूवनसिंह विश्वकर्मा, महेन्द्रकुमार गिरीलगायतलाई विशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान गरिएको थियो।




















