बिर्तामोड । झापा बिर्तामोड २ चारपानेकी शान्ता पौड्याल बिहीबार औधी खुशी भइन्। उनी खुशी हुनको कारण थियो घरमै सम्मान ग्रहण गर्नु।  मञ्जरी थिएटरका कलाकारहरूको टोलीले घरमै गएर सम्मान गर्दा उनमा खुशीको सीमा नै थिएन। आर्ट स्टुडियोको अध्यक्ष र कलाकार समेत रहेकी उनले आफूले पहिलो पटक यस्तो सम्मान ग्रहण गरेको बताइन् । यस प्रकारको सम्मानले नाट्य क्षेत्रमा काम गर्ने अझ हौसला मिलेको बताइन्।
मञ्जरी थिएटरका कलाकारहरूको टोलीले आर्ट स्टुडियोका कलाकारहरू शोभा बिमली, सुशीला पोखरेल, कल्पना खतिवडालाई समेत घरमै पुगेर सम्मान गर्दा उनीहरू अचम्भित भएका थिए। आफ्ना अभिभावकसहित सम्मान ग्रहण गर्दा उनीहरूमा खुशीको सिमा नै थिएन। आफूहरूले अन्य संस्थामा काम गर्दा पारिश्रमिकका लागी महिनौं कुर्नु परेको तर मञ्जरी थिएटरका कलाकारहरूको टोलीले
घरमै आएर पारिश्रमिकसहित कदर पत्रले सम्मान गर्ने कुरा आफूहरूले कल्पना समेत नगरेको उनीहरूले बताए। 
मञ्जरी थिएटरका कलाकारहरूको टोलीले  सिइएस थियटरका कलाकार विसोक तिवारी, न्युसन घिमिरेलाई समेत उनीहरूको अभिभावकसहित घरमै पुगेर सम्मान गरेको थियो।
त्यस्तै मञ्जरी थिएटर  बिर्तामोडका कलाकारहरु दिनेशराज शर्मा, याम खरेल, सलिना गुरागाँई, तुलसीप्रसाद निरौला, जतिन श्रेष्ठ र  नाटकको ध्वनी संयोजन तथा ब्याकग्राउण्ड म्यूजिक संयोजक  निरज पोखरेललाई समेत घरमै पुगेर उनीहरूको अभिभावकसहित  सम्मान गरिएको थियो।
  मञ्जरी थियटर , सिइएस थियटर र आर्ट स्टुडियोका कलाकारहरूले केहीदिन अघि लागूऔषध दुर्व्यसनबाट समाजलाई मुक्त गराउने उद्देश्यले अर्जुनधारा नगरपालिका वडा नं. ११ का विभिन्न स्थानमा लागूऔषध दुर्व्यसनबिरूद्दको सचेतनामूलक सडक नाटक अँध्यारो बाटो मञ्चन गरेका थिए। ती कलाकारहरूलाई उनीहरूले नाटक मार्फत समाज रूपान्तरणमा पुर्याएको योगदानको कदर गर्दै घरमै पुगेर अभिभावकसहित कदर पत्रले  सम्मान गरिएको सडक नाटक “अँध्यारो बाटो“ का लेखक तथा निर्देशक दिनेशराज शर्माले बताए । कलाकारहरूलाई घरमै पुगेर अभिभावकसहित सम्मान गर्दा उनीहरूप्रति घरपरिवारले हेर्ने दृष्टिकोण समेत परिवर्तन हुने उनको भनाई छ।
अर्जुनधारा नगरपालिका वडा नं. ११ को आर्थिक व्यवस्थापनमा आजात सामुदायिक संस्था अर्जुनधारा –११ को प्रस्तुतिमा सडक नाटक “अँध्यारो बाटो“ मञ्चन गरिएको अर्जुनधारा –११का वडा सदस्य पूर्णबहादुर राईले जानकारी दिए ।
आफूहरूले अर्जुनधारा नगरपालिका वडा नं. ११मा    लागूऔषध प्रभावित क्षेत्र निर्धारण गरेर अभिभावक सचेतना अभियान सञ्चालन गर्न, अभिभावकहरूलाई कसरी आफ्ना छोराछोरी र छरछिमेकका युवालाई लागूऔषधको दुरुपयोगबाट बचाउन सकिन्छ भन्ने बारेमा जानकारी दिने उद्देश्य सहित सडक नाटक “अँध्यारो बाटो“ मञ्चन गरेको बताउँदै उनले नाटक मञ्चन पश्चात त्यस क्षेत्रका बासिन्दाहरू आफ्ना छोराछोरी र छरछिमेकका युवालाई लागूऔषधको दुरुपयोगबाट बचाउन लागीपरेको जनाए।
कलाकारहरूलाई घरमै पुगेर सम्मान गरेर मञ्जरी थियटरले नौलो काम गरेको उनको भनाई छ।
आफ्नो अमुल्य जीवनको साटो  अब कसैले पनि हिँड्न नपरोस् अँध्यारो बाटो  भन्ने मूल नाराका साथ अर्जुनधारा वडा नं. ११ का  लक्ष्मीधाप देवीथान, सालवारीस्थित महारानीगञ्ज मावि अगाडि, उमामहेश्वर शिवालय परिसर देउनिया र गिरीबन्धु टिस्टेट परिसर अर्जुनधारामा सडक नाटक अँध्यारो बाटो मञ्चन गरिएको आजात सामुदायिक संस्था अर्जुनधारा –११ का अध्यक्ष सन्तकुमार राईले बताए।
सडक नाटक अँध्यारो बाटोमा मञ्जरी थिएटर  बिर्तामोडका कलाकारहरु दिनेशराज शर्मा, याम खरेल, सलिना गुरागाँई, तुलसीप्रसाद निरौला, जतिन श्रेष्ठ, सिइएस थियटरका कलाकारहरू न्यूसन घिमिरे, विसोक तिवारी, आर्ट स्टुडियोका कलाकारहरु शान्ता पौडेल, शोभा बिमली, सुशीला पोखरेल, कल्पना खतिवडाले अभिनय गरेका थिए भने
नाटकको ध्वनी संयोजन तथा ब्याकग्राउण्ड म्यूजिक संयोजनमा  निरज पोखरेलले गरेका थिए ।