बिर्तामोड । झापाको कनकाई –८ लक्ष्मीपुरमा रहेको पाथीभरा एकेडेमीले यस वर्षको एसईई परीक्षामा कनकाई नगरपालिकाकै उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ ।
कन्काई नगरपालिकाका निजी तथा सामुदायिक गरी २१ वटा विद्यालयमध्ये पाथीभरा एकेडेमीले शतप्रतिशत नतिजा निकाल्न सफल भएको कनकाई नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।
पाथीभरा एकेडेमीबाट ३४ जना विद्यार्थी यस वर्षको एसईई परीक्षामा सहभागी भई उत्तीर्ण भएको र ती मध्ये दश जनाले ३.६१ देखि ४ जीपीए, १९ जनाले ३.२१ देखि ३.६ र पाँच जनाले २.८ देखि ३.२ जीपीएसहित उत्तीर्ण भएको पाथीभरा एकेडेमीका सिईओ श्रीकान्त थापाले जानकारी दिए ।
उनले आफूहरुले नयाँ व्यवस्थापनबाट विद्यालयलाई सञ्चालन गरेसँगै एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको बताउँदै उक्त नतिजा ल्याउन मेहनत गर्ने विद्यार्थी, शिक्षक, अभिभावक सबैलाई बधाई दिएका छन् ।
पाथीभरा एकेडेमीले एसईई परीक्षासहित अन्य परीक्षामा पनि उत्कृष्ट नतिजा ल्याउने गरेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पोखरेलले बताए।
उनले विद्यार्थीले गरेको मेहनत खेर जान नदिन आफूहरू प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा पनि शैक्षिक गुणस्तर कायम राख्नसमेत प्रतिबद्धता जनाए।
विद्यालयका भाइस प्रिन्सिपल शुशिल सुवेदीले पाथीभरा एकेडेमीले यस वर्षको एसईई परीक्षामा कनकाई नगरपालिकाकै उत्कृष्ट नतिजा निकाल्न सफल भएको बताउँदै यसले आफूहरूमा अझ हौसला बढाएको बताए। उनले एसईईमा उत्तीर्ण सवै विद्यार्थीलाई वधाई तथा शुभकामना दिएका छन्।




















