बिर्तामोड। वैदेशिक रोजगार व्यवसायी संघ झापाले राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख पाॅच हजार रूपैयाँ सहयोग गरेको छ।
बीरगञ्ज कृषि औजार कारखाना पुन: सञ्चालन गर्न डाःमहावीर पुनले आफ्नो जीवनी पुस्तक बिक्री गर्न सञ्चालन गरेको अभियानमा वैदेशिक रोजगार व्यवसायी संघ झापाले एक लाख पाॅच हजार रूपैयाँ बराबरको पुस्तक खरिद गरेको हो।
वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनबहादुर पन्धाकले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको बताए।
उनले आफूहरूको सहयोगले बीरगञ्ज कृषि औजार कारखाना पुन: सञ्चालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डाःमहावीर पुनले १५ महिना अघि अभियान सञ्चालन गरेको र ४३ औं जिल्लाको रूपमा झापा आएको बताए। आफूले आफ्नो आत्मकथा २ लाख २० हजार पुस्तक बिक्री गरेको र हालसम्म खर्च कटाएर ११ करोड जम्मा गरेर बीरगञ्ज कृषि औजार कारखाना मर्मत गरी नयाॅ कृषि औजार बनाउन शुरू गरी परिक्षण समेत गरेको जनाए।
आफूहरूले किसानको दुःख देखेर पुस्तक बेचेर भएपनि बीरगञ्ज कृषि औजार कारखाना चलाउने हिम्मत गरेको बताउँदै
उनले वैदेशिक रोजगार व्यवसायी संघ झापाले गरेको सहयोग महत्वपूर्ण भएको जनाए। कार्यक्रमको सञ्चालन वैदेशिक रोजगार व्यवसायी संघ झापाका महासचिव नीरकुमार खत्री निरनले गरेका थिए।
वैदेशिक रोजगार व्यवसायी संघ झापाको नयाँ कार्यसमिति निर्वाचित भएसंगै संस्थागत कार्यसहित सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदानलगायतका सामाजिक तथा मानवीय कार्य समेत गरिरहेको वैदेशिक रोजगार व्यवसायी संघ झापाका प्रवक्ता ओमप्रकाश भट्टराईले बताए।




















