बिर्तामोड। झापा जिल्ला खेलकुद विकास समितिले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई स्वागत तथा सम्मान गरेको छ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्तले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई स्वागत तथा सम्मान गर्दै खेलकुदका विविध समस्याबारे जानकारी गराएका थिए।
उनले झापा जिल्ला खेलकुदको हब भएकोले मेची रंगशालाको भवन जीर्ण भएकाले त्यसको स्तरोन्नती गर्न बजेट विनियोजन गर्न आग्रह गरे।
त्यस्तै उनले झापा जिल्ला खेलकुद विकास समितिका विभिन्न खेलकुदका प्रशिक्षकको रिक्त रहेकाले त्यसमा अबिलम्ब प्रशिक्षकको पद नियुक्त गर्नुपर्ने बताए। उनले खेलकुदलाई पार्टीको रंग नदिन आग्रह गर्दै खेलाडीहरूलाई सेवासुविधा दिन माग गरे।
कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले मेची रंगशाला जीर्ण भएकाले आफूहरूले भद्रपुर झापा गोल्डकप गरेर मेची रंगशालाको केही हदसम्म मुहार फेरेको भएपनि अहिले भवन जीर्ण भएकाले त्यसको स्तरोन्नती गर्न बजेट विनियोजन गर्न आग्रह समेत गरे।
कार्यक्रममा वडाध्यक्ष रतिया राजवंशीले झापा जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक नियुक्त गर्न आग्रह गरे।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री चौधरीले मेची रंगशालामा उपयुक्त खेलमैदानको स्तरोन्नती गर्न बजेट। विनियोजन गरेको जनाए ।
उनले रिक्त प्रशिक्षक नियुक्त गर्न आफू लागीपरेको बताए।
आफू पनी पूर्व खेलाडी भएकाले खेलकुदमा पर्याप्त बजेट विनियोजन गरेको बताए।
उनले मेची रंगशालाको जीर्ण भवन निर्माण गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, वडाध्यक्षहरू बन्धु कार्की, मनोज सुब्बा, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, सल्लाहकार टीकाराज ढकाल, झापा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष गंगा तुम्वापो, सचिव तथा प्रवक्ता जगन कार्की दूर्वासा, सदस्य सीएम खनाल, करातेका अन्तर्राष्ट्रिय खेलाडी फूर्वा योञ्जन, बिभिन्न विधाका खेलकुद प्रशिक्षक, विर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलासहित विभिन्न व्यक्तिहरूले मन्त्री चौधरीलाई स्वागत गरेका थिए।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्तको अध्यक्षता तथा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन कार्यालय सचिव विष्णुकुमार नेम्बाङले गरेका थिए।
त्यस्तै मन्त्री मेची बहुमुखी क्याम्पस परिसरमा रहेको क्रिकेट रंगशालाको समेत निरीक्षण गरेका थिए।




















