बिर्तामोड। भागवत मञ्जरी राधिका दासीले कुशे औंशी अर्थात् बुबाको मुख हेर्ने दिन मात्र बुबालाई मान सम्मान नगरी
संधैभरी बुबाको श्रद्धाभक्ती गर्न सबैलाई आग्रह गरेकी छिन्।
काठमाडौं पशुपतिनाथमा भइरहेको पशुपतिनाथ मनोकामना पूर्ति तथा संकट मोचन ज्ञानमहायज्ञमा भागवत मञ्जरी राधिका दासीले बुबाको मुख हेर्न कुनै अवसर र दिवस नचाँहिने बताउँदै बुबाप्रति श्रद्धा, कृतज्ञता र प्रेम प्रकट गरेर हरेक दिन बुबाको मुख हेर्न सकिने जनाइन्।
आजको समाजमा जीवित बुबालाई सम्मान नगर्ने, बुढेसकालमा उनलाई बोझ ठान्ने, बुबालाई बृद्धाश्रममा लगेर छोड्ने, बर्षमा एकदिन बुबाको मुख हेर्ने दिन ह्याप्पी फादर्श डे भन्दै फेसबुक, टिकटक, ईन्सट्राग्राममा फोटो पोष्टयाएर भावुक स्टाटस लेखेर देखावटी श्रद्धा प्रदर्शन गर्ने बिकृति बढेको उनको भनाइ छ।
बुबाको मुख हेर्ने दिन ‘ फेसबुकमा फोटो पोस्ट’ गर्ने दिन मात्र नभएर जीवनभर साथ दिने बाबुप्रतिको वास्तविक कृतज्ञता अभिव्यक्त गर्ने दिन भएको उनको भनाई छ।
बुबाको मुख हेर्ने दिन “Father’s Day” कदापी नहुने बताउँदै हाम्रा हरेक चाड पर्वलाई जबर्जस्ती जानेर या नजानेर अंग्रेजी बनाउने काम बन्द गर्न उनले सबैलाई आग्रह गरिन्।
बुबाले आफ्नो पसिनाले परिवारलाई अन्न, शिक्षा, संस्कार र उज्ज्वल भविष्यको बाटो देखाएको र बुबाको आशीर्वादले सन्तानको जीवनमा शक्ति, प्रेरणा र सफलता प्राप्त हुने भएकाले हरेक दिन बुबाको चरण स्पर्श गरेर आशीर्वाद प्राप्त गरेर हरेक दिनको काम शुभारम्भ गर्न उनले सुझाव दिइन्।
जीवित हुँदै बुबालाई खुशी र सुखी राख्न सक्नु पर्ने बताउँदै उनले मर्ने बेलामा बुबालाई घाँटीमा माला भन्दा बाँच्दाखेरि थोरै माया धेरै महत्वपूर्ण हुने जनाइन् ।
मृत्यु पछि बुबाको नाममा गरिने दान भन्दा जीवित बाबुलाई मिठा परिकार, कपडा, र खुशी दिनु सबैभन्दा ठूलो धर्म भएको उनको भनाई छ।
काठमाडौं पशुपतिनाथमा भइरहेको पशुपतिनाथ मनोकामना पूर्ति तथा संकट मोचन ज्ञानमहायज्ञमा भागवत मञ्जरी राधिका दासीको आध्यात्मिक वाणी सुन्न भक्तजनहरूको ठूलो भीड देखिएको छ।
दैनिक १० हजार भन्दा बढी श्रद्धालु भक्तजनहरुको उपस्थिति देख्दा आफू गौरवान्वित भएको भागवत मञ्जरी राधिका दासीले बताइन् ।




















