बिर्तामोड। इशा बुक्स एण्ड स्टेशनरी बिर्तामोडको आयोजनामा किताब मेला शुरू भएको छ।
पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आगामी असोज १२ गतेसम्म किताब मेलाको आयोजना गरिएको इशा बुक्स एण्ड स्टेशनरी बिर्तामोडका सञ्चालक केशव मैनालीले बताए।
आफूहरूले विगत तीन वर्षदेखि किताव मेला आयोजना गरिरहेको बताउँदै उनले  यसले पठन संस्कृतिको विकास गर्न मद्दत पुग्ने जनाए।
मेलामा नयाँदेखि पुराना लेखकहरूका पुस्तक बिक्रीका लागी राखिएको  र पुस्तकमा १० देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले बताए।
मेलामा अवलोकन गर्न आउने अवलोकनकर्ताहरू मध्येबाट एक जना भाग्यशाली अवलोकनकर्ता छनौट गरी झापाली लेखकका पुस्तक उपहारस्वरूप प्रदान गरिने उनले बताए।
दशैंको समयमा झापाबाट विभिन्न ठाउँ गएका मानिसहरू दशैं मान्न झापा आउने र फुर्सदको समयमा पुस्तक पढ्न खोज्ने भएकाले उनीहरूको आवश्यकता पूरा गर्न पुस्तक मेला आयोजना गरिएको उनको भनाई छ।
विगतका किताब मेलामा पुस्तक खरिद गर्नेको राम्रो उपस्थिती भएको र त्यसले आफूहरूलाई हौसला मिलेको उनको भनाई छ।