बिर्तामोड  । झापाको कनकाई नगरपालिकास्थित घैलाडुब्बामा अन्तर वडा स्तरीय टी २०  क्रिकेट प्रतियोगिता हुने भएको छ।
      कनकाइ नगर खेलकुद विकास समितिको आयोजना तथा कनकाई वडा नं ८  खेलकुद उपसमितिको सह आयोजनामा  आदर्श विद्या मन्दिर मा.वि. घैलाडुब्बाको खेल मैदानमा अन्तर वडास्तरीय  टी २० क्रिकेट प्रतियोगिता हुने भएको कनकाइ नगर खेलकुद विकास समितिका अध्यक्ष जीवन ओलीले बताए।
आफूले कनकाइ नगर खेलकुद विकास समितिको जिम्मेवारी सम्हालेपछि पहिलो कार्यक्रम घैलाडुब्बामा अन्तर वडा स्तरीय टी २० क्रिकेट प्रतियोगिता आयोजना गरेको उनले बताए।
पछील्लो समय युवा लागूपदार्थ दुर्व्यसनमा फसिरहेको अवस्थामा उनीहरूलाई खेलको माध्यमबाट जागरण गराउने उद्देश्य रहेको उनले बताए।
  आगामी कार्तिक ७ गतेदेखि १० गतेसम्म हुने अन्तर वडास्तरीय टी २० क्रिकेट प्रतियोगितामा कनकाई नगरपालिकाका ९ वटै वडा र आयोजक टीमसहित  १० वटा टीमका खेलाडीहरूको सहभागिता रहने अध्यक्ष ओलीले बताए।
अन्तर वडास्तरीय टी २०  क्रिकेट प्रतियोगिताका बिजेता प्रथमलाई ५० हजार र द्वितियलाई ३५ हजार ट्रफी मेडल प्रमाण पत्र प्रदान गरिने कनकाइ नगर खेलकुद विकास समितिका सदस्य प्रत्युस निरौलाले बताए।
कनकाई नगरपालिकाभित्रका युवालाई खेलप्रतिको रूची बढाउने, कनकाई नगरमा प्रतिभावान खेलाडीहरूको पहिचान र प्रोत्साहन गर्ने ,  खेलप्रति स्वस्थ प्रतिस्पर्धाको भावना विकास गरी कनकाई नगरका खेलाडीहरूको प्रतिभा प्रस्फुटन, विकास, सहकार्य र खेल भावना प्रवद्र्धन गर्न प्रतियोगिताको आयोजना गरिएको उनले बताए।
कार्यक्रमका सहजकर्ता  क्रिकेट खेलाडी नवराज भेटवालले अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता सफल बनाउन सहयोग गर्न सवैलाई आग्रह गरे ।
उनले तीन बर्षपछि आदर्श विद्या मन्दिर मा.वि. घैलाडुब्बाको खेल मैदानमा पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना गरीएको बताए।
  कार्यक्रमको सहजीकरण कृष्णवावु शर्माले गरेका थिए।