बिर्तामोड।  साहित्य चौतारी बिर्तामोड झापा नेपालले दक्षिणा नलिई देउसी खेलेर यस बर्षको तिहारलाई बिदाई गरेको छ।        साहित्य चौतारी बिर्तामोड झापा नेपालले २०५८ सालदेखि निरन्तर खेल्दै आएको दक्षिणारहित  सामुहिक सडक देउसी  कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सम्पन्न गरेको साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले बताए।
अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा कन्काई प्रज्ञा प्रतिष्ठानका सदस्य  साहित्य संयोजक  कनकाई माविका पूर्व प्रधानाध्यापक निर्मल खतिवडाको प्रमुख आतिथ्यमा बिर्तामोडस्थित होटल  हिकोला हेरिटेजको प्राङ्गणबाट दक्षिणारहित  सामुहिक सडक देउसी  सुरु भएको थियो ।अध्यक्ष श्रेष्ठ, प्रमुख अतिथी खतिवडा , मानार्थ सल्लाहकार  लोकनाथ पौड्याललगायतले देउसी भट्याएर शुरू गरिएको देउसीको टोलीले बिर्तामोड नगर परिक्रमा गरेको थियो।

बिर्तामोड नगर परिक्रमापछि होटल हिकोला हेरिटेजको साहित्य चौतारीको सभाहलमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।
   साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देविभक्त श्रेष्ठको अध्यक्षता तथा कन्काई प्रज्ञा प्रतिष्ठानका सदस्य  साहित्य संयोजक  कनकाई माविका पूर्व प्रधानाध्यापक निर्मल खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कार्यक्रमका संयोजक तथा साहित्य चौतारी बिर्तामोड झापा नेपालका सल्लाहकार  लोकगायक अनीरुद्र ओलीले  स्वागत गर्दै देउसी परम्पराको सामाजिक र सांस्कृतिक औचित्यमाथि प्रकाश पारेका थिए।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले विगत २५ वर्षदेखि साहित्य चौतारीले धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले दक्षिणा रहित  सामुहिक सडक देउसी  कार्यक्रमलाई निरन्तरता दिइरहेको बताए।

उनले दक्षिणा रहित  सामुहिक सडक देउसी परम्परा  नेपाली मौलिक संस्कृतिको पहिचान बताउँदै  यो अहिलेको जेन्जी पुस्तामा मौलिक संस्कार पुस्तान्तरण गर्दै अघि बढेको जनाए।
कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती  , लोकगीत सम्राट एल.पी. जोशीको ८९ औं जन्मजयन्ती तथा संस्थापक सल्लाहकार सरोज ओलीको प्रथम स्मृति दिवस मनाइएको थियो। 

सप्तक संगीत विद्यालयका संस्थापक संगीत गुरू सरोज वत्स र विद्यार्थीहरूले गीत प्रस्तुत गरेर महाकवि देवकोटा र लोकगीत सम्राट जोशीको  स्मरण गरेका थिए।
कार्यक्रममा संस्थाकी सदस्य  मनिषा भट्टराईले देउसी गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् भने सहभागी कलाकारले देउसी गीत प्रस्तुत गरेका थिए।
   सोही कार्यक्रममा अग्रज  वयोवृद्ध साहित्यकार  कुबेरनाथ पौड्यालको ‘अतीतका पाना पल्टाउँदा’ नामक कृतिको लोकार्पण  गरिएको थियो ।

 संस्थाका अध्यक्ष श्रेष्ठ,प्रमुख अतिथि खतिवडा र विशिष्ट अतिथि सर्जक जयनारायण भट्टराई , लोकनाथ पौड्याल, साहित्यकार पुण्य बराल, पुण्यप्रसाद खरेल, सल्लाहकार हरिनारायण भट्टराई, अनिरूद्र ओली, विन्दू दाहाल मूकदर्शक लेखक कुबेरनाथ पौड्याल, प्रकाशक दिब्यश्वरा पौड्याल लगायतले उक्त कृतिको लोकार्पण गरेका थिए।
पुस्तकको समीक्षा साहित्यकार पुण्य बरालले गरेको कार्यक्रममा सर्जक जयनारायण भट्टराई, मानार्थ सल्लाहकार लोकनाथ पौड्‌यालले वयोवृद्ध अवस्थामा कृति निकालेर अग्रज  वयोवृद्ध साहित्यकार  कुबेरनाथ पौड्यालले राम्रो काम गरेको जनाए।
  कृतिका लेखक  पौड्यालले आफूले योगी नरहरीनाथको प्रेरणा पाएर कृति निकालेको बताए। 

कृतिका सम्पादक मेघनाथ बन्धुले  पुस्तक लेखनमा सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरेका थिए।  
लेखक पौड्यालकी बुहारी शिक्षक मुना काफ्लेले धन्यवाद ज्ञापन गर्दै आफ्ना अभिभावक  वयोवृद्ध साहित्यकार  कुबेरनाथ पौड्यालको पुस्तक लोकार्पण गरिदिएकोमा साहित्य चौतारीलाई धन्यवाद दिंदै स्रष्टाको सृजना बचाई राख्न साहित्य चौतारीले खेलेको भुमिकाको प्रशंसा गरिन्।
कार्यक्रमका प्रमुख अतिथि  खतिवडाले साहित्य चौतारीले २७ औं वर्षमा प्रवेश गर्दै साहित्य, संस्कृति र सृजनाको विशाल मञ्च बनेको बताए। 

उनले साहित्य चौतारीले दक्षिणा रहित  सामुहिक सडक देउसी  खेलेर देउसीको नाममा दक्षिणा लिनेलाई झापड हानेको बताए।
 साहित्य चौतारी बिर्तामोड झापा नेपाल  र नेपाल फिल्म सोसाइटी कोशी प्रदेशको संयुक्त आयोजनामा कार्यक्रम  भएको थियो ।
  सहभागीलाई सेलरोटी समेत खुवाएको  कार्यक्रमको सञ्चालन साहित्य चौतारी बिर्तामोड झापा नेपालका सचिव  तुलसी प्रसाद निरौलाले गरेका थिए।