बिर्तामोड । झापा जिल्लाकै पुरानो, ऐतिहासिक र पौराणिक महत्व बोकेको झापाको बाह्रदशी–६ कञ्चनगढधाम साधुकुटीमा सञ्चालित गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुलमा ‘ श्रीमद् सौर्य महापुराण धनधाञ्याचल विराट ज्ञान महायज्ञ ’ शुरु भएको छ ।
महायज्ञ सम्पादन मूल समितिका संयोजक तथा श्री गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम संरक्षण समिती तथा गुरुकुल कञ्चनगढधाम, साधुकुटीका अध्यक्ष ज्ञानु सुवेदीको अध्यक्षता तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुप्रसिद्ध कथावाचक धर्मगुरु व्यासाचार्य किशोर गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका पूर्व सचिव संस्थापक सदस्य वेदमणी दाहालले स्वागत गरेका थिए भने गुरुकुलका बटुकहरुले अंग्रेजी र संस्कृत भाषामा स्वागत गरेका थिए ।
‘ श्रीमद् सौर्य महापुराण धनधाञ्याचल विराट ज्ञान महायज्ञ ’ को उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुप्रसिद्ध कथावाचक धर्मगुरु व्यासाचार्य किशोर गौतमले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि व्यासाचार्य गौतमले झापा जिल्लाको पूरातात्विक महत्व बोकेको प्राचिन,धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलको रुपमा बाह्रदशी–६ स्थित गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुल कन्चनगढधाम साधुकुटी रहेको बताउँदै यो पुण्यभूमि भएकाले यसको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
झापा जिल्लाकै पुरानो, ऐतिहासिक र पौराणिक महत्व बोकेको बाह्रदशी श्रीमद्भागवतको आठौं स्कन्धमा समेत समाबिष्ट ठाउँ भएकाले यसको विशेष महत्व रहेको बताउँदै प्रमुख अतिथि व्यासाचार्य गौतमले यस पुण्यभूमिमा आएर ‘ श्रीमद् सौर्य महापुराण धनधाञ्याचल विराट ज्ञान महायज्ञ ’ को कथा श्रवण गर्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा श्री गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुल तथा कन्चनगढधाम साधुकुटीका अध्यक्ष ज्ञानु सुवेदीले औचित्यमाथी प्रकाश पार्दै झापा जिल्लाको पूरातात्विक महत्व बोकेको प्राचिन,धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलको रुपमा बाह्रदशी–६ स्थित गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुल कन्चनगढधाम साधुकुटीलाई विकास गर्ने, गुरुकुल बचाउने अभियान , धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने , १०८ शिवलिङ्गसहितको शिवालय निर्माण पूरा गर्ने , गुरुकुलको संरक्षण गर्ने उद्देश्यले ‘ श्रीमद् सौर्य महापुराण धनधाञ्याचल विराट ज्ञान महायज्ञ ’ को आयोजना गरिएको बताए ।
हालसम्म मुष्ठीदान, विभिन्न धार्मिक अनुष्ठानमा गरिएको धान्याचल महायज्ञबाट संकलित धान, चन्दादाता र महर्षी वैदिक फाउण्डेशनको सहयोगले सञ्चालन हुँदै आएको गुरुकूल पछिल्लो समय बढ्दै गएको महंगीका कारण खर्च बढेकाले सञ्चालन गर्न समस्या भएकाले महायज्ञको आयोजना गर्नुपरेको बताउँदै उनले यस पुण्यकार्यमा सहभागी हुन सबैलाई आग्रह गरे ।
संस्थाको ३५ औं धार्मिक अनुष्ठान तथा गुरुकुलको १८ औं वार्षिकोत्सव अन्तर्गत महायज्ञको आयोजना गरिएको बताउँदै सुवेदीले गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुलको हालसम्म कुनैपनि अक्षयकोष नरहेकाले खर्च जुटाउन समस्या भएकाले गुरुकुल सञ्चलानार्थ अक्षयकोष स्थापनार्थ, अन्न क्षेत्रका लागी धान तथा जिन्सी संकलन गर्नका लागी महायज्ञ आयोजना गरिएको बताए ।
कार्यक्रममा पंडित सूर्य सुवेदी, व्यवसायी सुरेश वंशल , बाह्रदशी–६ का वडासदस्य गंगाराम धिताल, सप्तऋषी गुरुकुलका प्राचार्य होमनाथ पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बाह्रदशी गाउँपालिकाका विभिन्न नीजि तथा सामुदायिक ७ वटा विद्यालयका विद्यार्थीले सास्कृतिक नृत्य, बक्तृत्वकला प्रस्तुत गरेको मन्दिर समितिका सचिव पुष्प भट्टराईले जानकारी दिए ।
कार्यक्रम अघि ‘बाह्दशी गाउँपालिकाका जनप्रतिनिधी, गुरुकुलका प्रमुख गुरुसहित अन्य गुरुहरु, धार्मिक संघसंस्थाका प्रमुख, सामाजिक संघसंस्थाका पदाधिकारीहरु, चन्दादाता, सामाजिक अभियन्ता भजन किर्तन मण्डली, गुरुकुलका बटुक, धामीझाँक्री , विद्यार्थीलगायतको सहभागितामा निस्किएको शोभायात्राले बाह्रदशीका बिहिबारे बजारलगायत विभिन्न स्थानको परिक्रमा गरी महायज्ञस्थल प्रवेश गरेको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुप्रसिद्ध कथावाचक धर्मगुरु व्यासाचार्य किशोर गौतमको पावन सानिध्यतामा साङ्ग्वेद संस्कृत मावि विवेकाश्रम चारपानेका पूर्व प्राचार्य कथावाचक आचार्य दामोदर न्यौपानेको कथा प्रवचन तथा पण्डित हेमलाल ढकालको पाठपारायण रहने ‘ श्रीमद् सौर्य महापुराण धनधाञ्याचल विराट ज्ञान महायज्ञ ’ को मङ्सिर ४ गते सम्म सञ्चालन गरिने र महायज्ञको समापन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुप्रसिद्ध कथावाचक ईश्वरकृष्णजी महाराजले गर्ने श्री गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम गुरुकुल तथा कन्चनगढधाम साधुकुटीका अध्यक्ष ज्ञानु सुवेदीले बताए।
कार्यक्रमको सञ्चालन विश्वास गौतमले गरेका थिए ।




















