बिर्तामोड। पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वरधामको ४३ औं बार्षिक अनुष्ठानको रूपमा वायू पुराण सप्ताह ज्ञान महायज्ञ शुरू भएको छ।        
    अर्जुनधारा जलेश्वरधाम सञ्चालन समितिका अध्यक्ष नवीन गट्टानीको अध्यक्षता तथा १००८  स्वामी केशवानन्द गिरीजी महाराज केएन स्वामीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष अम्बिका प्रसाद खतिवडाले स्वागतसहित औचित्यमाथी प्रकाश पारेका थिए।   
  अर्जुनधारा संस्कृत गुरूकूलका विद्यार्थी खेमप्रसाद लामिछानेले संस्कृत भाषाबाट स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा अर्जुनधारा जलेश्वरधामका मूल अर्चक अग्नीप्रसाद सिग्देलले  अर्जुनधारा जलेश्वरधामका गतिविधिहरुको बारेमा प्रकाश पारेका थिए।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख वलदेवसिंह गोम्देनले अर्जुनधारा जलेश्वरधामलाई धार्मिक तथा पर्यटकीय स्थल बनाउन आफू लागीपर्ने बताए।
कार्यक्रममा प्रमुख अतिथी केएन स्वामीले आफ्ना सन्तानलाई संस्कारयुक्त शिक्षा दिनुपर्ने बताए।
उनले अर्जुनधारा जलेश्वरधामबाट अर्जुनधाराका बालबालिकालाई संस्कारयुक्त शिक्षा दिन आग्रह गरे।
उनले अर्जुनधारा जलेश्वरधाम पुण्यभूमि भएकाले यसको साख जोगाउन सबै जुट्नुपर्ने बताए।
आगामी मंसीर ३ गतेसम्म सञ्चालन हुने वायू पुराण सप्ताह ज्ञान महायज्ञको प्रमुख कथावाचकमा व्यासाचार्य कुवेर सुवेदी र उपवाचकमा पंडित हेमन्त भण्डारीले कथावाचन गरिरहने अर्जुनधारा जलेश्वरधामका कोषाध्यक्ष मनोज जोशीले बताए।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेको अर्जुनधारा जलेश्वरधामका महासचिव शिवलाल खतिवडाले जानकारी दिए।