बिर्तामोड । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा मंगलवार  साँझ हजारौं भक्तजनले आफ्ना पितृको स्मरण गरी दीप प्रज्वलन गरेका छन्।
यस बर्षको बालाचतुर्दशी पर्वको अघिल्लो साँझ अर्जुनधारा जलेश्वर धाममा देश-विदेशबाट  भक्तजन आइपुगेर आफ्ना पितृको स्मरण गरी दीप प्रज्वलन गरेको  धामका मूल अर्चक अग्नीप्रसाद सिग्देलले बताए।
बुधबार यस बर्षको बालाचतुर्दशी पर्बमा   शत्बीज छर्न  मंगलवार साँझ आएका भक्तजनले धाममा आयोजना गरिएको बायू महापुराणमा समेत सहभागिता जनाई पुण्यको भागी बन्न पाउने धामका मूल अर्चक अग्नीप्रसाद सिग्देलले बताए। भक्तजनले अर्जुनधारा जलेश्वर धाममा हरेक साँझ आयोजना भइरहेको गंगा आरतीमा समेत सहभागिता जनाएको धामका व्यासाचार्य कुवेर सुवेदीले बताए। दीप प्रज्वलन गर्न आएका भक्तजनलाई अर्जुनधारा नगरपालिकाका नगर प्रमुख वलदेवसिंह गोम्देनले स्वागत गर्दै ढुक्क भएर शत्बीज छर्न आग्रह गरेका थिए।
बालाचतुर्दशीमा  विभिन्न संस्थाहरूले भक्तजनहरूको सेवा गर्न निशुल्क  स्वास्थ्य उपचार, निशुल्क पानी, चिया, तथा प्रसाद वितरणका स्टलहरू राखेको  साथै, आयोजकले सबै भक्तजनका लागि महाप्रसादको रूपमा खिचडी वितरण गर्ने तयारी गरेको धामका मूल अर्चक अग्नीप्रसाद सिग्देलले बताए। 
 गत वर्षको तुलनामा यसपटक दोब्बर भक्तजन उपस्थित हुने  भएकाले महोत्सवलाई व्यवस्थित गर्न सुरक्षा, यातायात, र सरसफाइ व्यवस्थामा विशेष ध्यान दिइएको धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताए।
अर्जुनधारामा यस पटकको बाला चतुर्दशी विशेष महोत्सवलाई झन् आकर्षक बनाउन धार्मिक स्थल र परिक्रमा मार्गभर बिजुली बत्तीले विशेष सजावट गरिएको उनको भनाई छ।
मुख्य मन्दिर परिसर, परिक्रमा मार्ग, र सभा स्थललाई विभिन्न रंगीन बत्तीले झिलिमिली बनाइएको ,मन्दिरको मूल भवनमा एलइडी बत्तीको प्रयोग गरी कलात्मक ढंगले झकिझकाउ बनाइएको  उनले बताए।
त्यस्तै  परिक्रमा गर्न आउने भक्तजनलाई उत्साह प्रदान गर्न मार्गभर झलझली बत्तीको विशेष व्यवस्था गरिएको उनले बताए ।
महायज्ञमा आउने भक्तजनहरूको संख्या दैनिक बृद्धि भइरहेको उनको भनाई छ।