बिर्तामोड। झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमबीच ‘पठन संस्कृति वर्ष–२०२६’को घोषणा गरिएको छ ।
‘रिडर्स अभियान, नेपाल’, ‘अभियानका लागि अभियन्ता’, ‘वीरता रिडर्स’, ‘झापाली साहित्य समाज’ को आयोजना तथा ईशा बुक्स सेन्टर बिर्तामोड र मिडिया रिसर्च सेन्टरको संयोजनमा होटल हेवन ग्रान्ड विर्तामोडमा ‘पठन संस्कृति वर्ष–२०२६’को घोषणा गरिएको हो । ‘अभियानका लागि अभियन्ता’का अध्यक्ष प्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ अधिवक्ता लीला उदासी, सहकारी तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरी तथा पत्रकार–लेखक केदार शर्माले ‘पठन संस्कृति वर्ष – २०२६’को व्यानर उघारेर घोषणा गरेका थिए।
कार्यक्रमका सहसंयोजक ईशा बुक्स सेन्टर बिर्तामोडका सञ्चालक केशव मैनालीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा पत्रकार तथा लेखक तीर्थ सिग्देलको पुस्तक ‘त्यो झापा’ र उपन्यासकार हेम गुरागाईंको उपन्यास ‘दिगो समाधान’ को लोकार्पण गरिएको थियो ।
ती कृतिको परमानन्द मिश्र, दुर्गा राजवंशी, प्रेमसागर खनाल, कुलप्रसाद नेउपाने, दयानन्द गोस्वामी , साहित्यकारहरु पुण्यप्रसाद खरेल, केशव आचार्य तथा तारा राईलगायतले लोकार्पण गरेका थिए।
कार्यक्रममा वरिष्ठ अधिवक्ता लीला उदासीले तीर्थ सिग्देलको पुस्तक ‘त्यो झापा’को विशेषता, त्यस कृतिले उठाएको ऐतिहासिकता, पुस्तकले दिने ज्ञान र सन्देश तथा यसका सीमाहरुका बारे , सहकारी तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीले अभियानको महत्व, अभियान कसरी कसरी संचालन गर्न सकिन्छ, के के व्यवधान आउन सक्छन्, अभियानलाई सफल पार्न के के कुरामा विशेष ध्यान दिनुपर्छ ? भन्ने बारे र पत्रकार–लेखक केदार शर्माले पुस्तकको महत्व, पुस्तक पढ्नुको महत्व, पुस्तक पढेर आलोचनात्मक चेतको विकास गर्ने र सृजनात्मक उपयोग गर्ने बारे तथा पुस्तक पढन्तामा जाग्नसक्ने अहं र त्यसलाई जित्नुपर्ने बारे र पुस्तक पढ्ने संस्कृति विकास गर्न कस्ता कस्ता काम गर्न मनासिव हुन्छ भन्ने विषयमा धारणा राखेका थिए ।
कार्यक्रम अघि स्रष्टाहरु गीता सुवेदी नेपाल, दीपा दाहाल, राजेश ढुङ्गाना, सुनीता तामाङ, मायामितु नेउपाने, रञ्जिता खड्का, केशव आचार्य, भगवती ढुङ्गेल, हरिनारायण भट्टराई, डिल्लीरमण नेपाल, कृष्ण बराल, तुलसीप्रसाद भट्टराई, दुर्गाप्रसाद सिग्देल, केदार शर्मा, रश्मिशेखर सुवेदी, लीला अनमोल, राजकुमार विश्वकर्मा, पुण्यप्रसाद खरेल, कृष्णप्रसाद मिश्र, रेखा सापकोटा, नमुना निरौला दाहाल, दीपेन्द्र आचार्य, लक्ष्मी अच्युत ढुङ्गाना तथा पुष्प शाहलगायतले आफ्ना रचना सुनाएका थिए ।
कार्यक्रमको सञ्चालन साहित्यकार खगिन्द्रा खुसीले गरेकी थिइन् भने ‘पठन संस्कृति वर्ष – २०२६’को औपचारिक
कार्यक्रमको सञ्चालन ‘रिडर्स अभियान, नेपाल’का अध्यक्ष सन्तोष आचार्यले गरेका थिए।




















