बिर्तामोड । झापाको अर्जुनधारा ५ मा रहेको भानु माध्यमिक विद्यालयको ६६ औं बार्षिकोत्सव तथा ६७ औं स्थापना दिवस सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज खड्काको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाकी नगर उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक रुपक दाहालले प्रस्तुत गरेका थिए ।
उनले विद्यालयका संस्थापक स्व. अमरबहादुर खड्का, स्व. ज्ञानुराम भट्टराई, महेन्द्र भण्डारी, भीमबहादुर खड्कालगायतको योगदान बारे चर्चा गरेका थिए ।
कार्यक्रममा दिर्घसेवा गरी अवकाश प्राप्त शिक्षक भीमप्रसाद उप्रेती र सीतादेवी खनाल , सरूवा भएर जाने प्रेमप्रसाद उप्रेती र युवराज निरौलालाई सम्मानसहित बिदाई गरिएको थियो ।
कार्यक्रममा शैक्षिक सत्र २०८२ का एसईई उत्कृष्ट विद्यार्थी सागर कार्की र अनुज्ञा खतिवडालाई देवी तुलसा खड्का स्मृति अक्षयकोषबाट ९ हजार १ सय नगदसहित सम्मान गरिएको थियोे ।
कार्यक्रममा बिभिन्न दाताहरुबाट स्थापित छात्रवृत्ति विद्यालयका बिभिन्न कक्षा र संकायका उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, पिटी, साहित्यिक रचना लगायत प्रस्तुत गरेका थिए भने प्राविधिक धारका विद्यार्थीहरूले प्रोजेक्ट प्रदर्शन गरेका थिए।
विद्यालयकी बालक्लव अध्यक्ष स्वस्तिका खड्काले स्वागत गरेको कार्यक्रममा प्राविधिक धारका विद्यार्थी एलिना निरौलाले प्राविधिक शिक्षाको महत्वको बारेमा मन्तव्य व्यक्त गरेकी थिइन् ।
कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक जीवन पोखरेलले गरेका थिए ।




















