बिर्तामोड। झापाको बिर्तामोड २ स्थित इष्टर्न साहारा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा  सम्पन्न भएको छ।
   इष्टर्न साहारा कम्पनी लिमिटेडका अध्यक्ष महेन्द्रकुमार गिरीको अध्यक्षता तथा नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा इष्टर्न साहारा कम्पनी लिमिटेडकी सञ्चालक कल्पना बिकले स्वागत गरेकी थिइन्।
   कार्यक्रममा इष्टर्न साहारा कम्पनी लिमिटेडका अध्यक्ष महेन्द्रकुमार गिरीले हालसम्मको गतिविधिसहित बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
 ‘दीगो समृद्धिका लागि हरित लगानी’ भन्ने मुल नाराका साथ वि.सं. २०७९ मंसीर ११ गते लगानीमूलक कम्पनीको रूपमा  छरिएर रहेको स–सानो पुँजीलाई एकीकृत रुपमा परिचालन गर्दै मुख्य रुपमा ग्रीन फाइनान्सिङलाई प्रोत्साहन, प्रवर्धन गर्ने र कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्ने परियोजनाहरुमा लगानी गर्ने उद्देश्यले इष्टर्न सहारा कम्पनी लिमिटेडको स्थापना गरिएको इष्टर्न साहारा कम्पनी लिमिटेडका अध्यक्ष महेन्द्रकुमार गिरीले बताए।

 विशेषगरी हरित लगानीलाई प्राथमिकता दिँदै आएको  इष्टर्न साहारा कम्पनी लिमिटेडले जलविद्युत, सौर्य ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि र खनिज उत्खनन् जस्ता बहुआयामिक क्षेत्रमा  लगानी विस्तार गरिरहेको बताउँदै उनले   यी क्षेत्रमा गरिएको लगानीले आर्थिक प्रतिफलसँगै राेजगारी सिर्जना, प्रविधि हस्तान्तरण र वातावरणीय सन्तुलनमा दीर्घकालीन याेगदान गर्ने विश्वास लिएकाे जनाए । 

इष्टर्न साहारा कम्पनी लिमिटेडका परिकल्पनाकार समेत रहेका अध्यक्ष महेन्द्रकुमार गिरीले  इष्टर्न साहारा कम्पनी लिमिटेडले स्थापनाको तेस्रो बर्षमै सवैको मन जित्न सफल हुँदै राम्रो प्रगति गरेको बताए।

  सामाजिक, वित्तिय क्षेत्र, हाइड्रोपावर सम्बन्धीत प्रतिष्ठित व्यक्तिहरु, सामाजिक उद्यमी, चार्टर्ड एकाउण्टेन्ट, अन्य व्यवासायिक लगायतका प्रवुद्ध व्यक्तिहरुको समुहद्धारा संस्थापित र सञ्चालित स्वःपुँजीको क्षेत्रमा आफ्नो लगानीलाई विस्तार र विविधीकरण गर्दै मुलुकको हरित लगानीमा टेवा पुर्याउँदै आर्थिक विकासमा योगदान गर्ने इष्टर्न साहारा कम्पनी लिमिटेडले  आगामी ६ महिना भित्र आइपिओ जारी गर्ने योजना रहेको  उनले बताए ।
   सर्वसाधारणका लागी २७ करोड ५० लाख रुपैयाँ बराबरको  आइपिओ निष्कासन गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण कानुनी तथा प्रक्रियागत कार्य अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिएको उनले बताए।
​ आईपीओ निष्कासन गर्ने निर्णयसँगै इष्टर्न साहारा कम्पनी लिमिटेड अब सर्वसाधारणको समेत स्वामित्व रहने गरी सार्वजनिक कम्पनीको रूपमा थप सुदृढ बनेको उनलेे जानकारी दिए।
  कार्यक्रममा इष्टर्न साहारा कम्पनी लिमिटेडका प्रबन्धक कृष्ण रानाभाटले इष्टर्न साहारा कम्पनी लिमिटेडको पूँजीको संरचनाको विषयमा जानकारी गराउँदै इष्टर्न साहारा कम्पनी लिमिटेडको १ अर्ब ५० करोड रुपैयाँ अधिकृत पुँजी र १ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी , जारी पूँजी १ अर्ब ३७ करोड ५० लाख,  सञ्चित मुनाफा ३ करोड ९१ लाख ७ हजार  ६ सय ३६ ,  सर्वसाधारण समूह आइपीओबाट २७ करोड ५० लाख, प्रतिशेयर आम्दानीबाट २ सय ५५ रुपैयाँ ३८ पैसा र प्रति शेयर नेट अर्थ १सय २ रुपैयाँ ८१  पैसा रहेको जानकारी  दिए ।
बिर्तामोडमा मुख्य कार्यालय र काठमाडौंको बानेश्वर हाइटमा सम्पर्क कार्यालय रहेको इष्टर्न साहारा कम्पनी लिमिटेडको तेस्रो​ साधारण सभामा सञ्चालक समितिले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि विस्तृत छलफल गरी पारित गरिएको इष्टर्न साहारा कम्पनी लिमिटेडका सञ्चालक गोपाल भट्टराईले जानकारी दिए।
त्यस्तै  इष्टर्न साहारा कम्पनी लिमिटेडको तेस्रो साधारण सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नुका साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीका विभिन्न दफाहरूमा आवश्यक संशोधन र परिमार्जन गर्ने प्रस्तावलाई समेत सर्वसम्मतिले अनुमोदन गरेको इष्टर्न साहारा कम्पनी लिमिटेडका सञ्चालक  पवन राजवंशीले बताए।
  कार्यक्रममा प्रमुख अतिथि महानायक राजेश हमालले  इष्टर्न सहारा कम्पनी लिमिटेडले छरिएर रहेका स–साना पुँजीलाई एकीकृत गरेर सवैलाई उद्यमशीलतामा जोड्न खोजेकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा साहस ऊर्जाका कम्पनी सचिव दिनेश रोक्काले  इष्टर्न सहारा कम्पनी लिमिटेडले  स्थापनाको छोटो समयमा उल्लेखीय प्रगति गरेको बताए । 

मौलिक संस्कृति झल्कने सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको  कार्यक्रमको सञ्चालन कम्पनीका शेयर सदस्य एकराज गिरीले गरेका थिए ।