बिर्तामोड। १६ औँ राष्ट्रपति रनिङ शिल्ड झापा जिल्ला स्तरीय खेलकुद प्रतियोगिता आगामी फाल्गुन ४, ५ र ६ गते गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा गरिने भएको छ।
जिल्ला खेलकुद विकास समिति झापाको आयोजना तथा गौरादह नगरपालिकाको संयोजनमा गौरादहमा १६ औँ राष्ट्रपति रनिङ शिल्ड झापा जिल्ला स्तरीय खेलकुद प्रतियोगिता हुने भएको जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले जानकारी दिए ।
जिल्ला खेलकुद विकास समिति झापा र गौरादह नगरपालिकाबीचको समन्वयपछि १६ औँ राष्ट्रपति रनिङ शिल्ड झापा जिल्ला स्तरीय खेलकुद प्रतियोगिताको मिति र स्थान तय गरिएको उनले जानकारी दिए ।
गौरादह नगरपालिका खेलकुद विकास समिति अध्यक्ष कुपेन्द्र निरौलाको अध्यक्षतामा बसेको बैठकले १६ औँ राष्ट्रपति रनिङ शिल्ड झापा जिल्ला स्तरीय खेलकुद प्रतियोगिताको तयारी, व्यवस्थापन र सहकार्यका विषयमा सरोकारवालासंग छलफल गरेको थियो ।
गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, शिक्षा शाखा प्रमुख विदुर आचार्य, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ , प्रवक्ता दुर्वासा कार्की ‘जगन’, कराते प्रशिक्षक दुर्गाराज निरौला र कुस्ती प्रशिक्षक वेदनिधि भण्डारीलगायतले प्रतियोगिता सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
१६ औँ राष्ट्रपति रनिङ शिल्ड झापा जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा झापाका १५ वटै स्थानीय तहबाट छनोट भएका खेलाडीहरूले भाग लिन पाउने र त्यसका लागि सबै पालिकाले पालिकास्तरीय प्रतियोगिता सम्पन्न गरी माघ २८ गतेभित्र खेल सम्पन्न प्रतिवेदन र खेलाडी दर्ता फाराम समितिमा बुझाइसक्नुपर्ने जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ ले बताए।
१८ वर्षमुनिका छात्र–छात्रा सहभागी हुने प्रतियोगितामा करिब १५ सय विद्यार्थी खेलाडीले सहभागिता जनाउने बताउँदै अध्यक्ष भण्डारीले प्रतियोगितामा कराते, तेक्वान्दो, कबड्डी, उसु, भलिबल र एथलेटिक्स खेल विधा समावेश गरिने जानकारी दिए।
यस अघिको १३ औँ, १४ औँ र १५ औँ राष्ट्रपति रनिङ शिल्ड झापा जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा अर्जुनधारा नगरपालिकाले लगातार उपाधि जित्दै ह्याट्रिक गरेको थियो ।
१६ औँ राष्ट्रपति रनिङ शिल्ड झापा जिल्ला स्तरीय खेलकुद प्रतियोगिता विद्यालयस्तरीय खेलकुदको विकास, अनुशासन, नेतृत्व र राष्ट्रियस्तरका खेलाडी उत्पादनको आधारशिला रहेको बताउँदै अध्यक्ष भण्डारीले प्रतियोगिता सफल बनाउन गौरादह नगरपालिकाले देखाएको चासो प्रति खुशी व्यक्त गरेका छन्।
गौरादहमा हुने १६ औँ राष्ट्रपति रनिङ शिल्ड झापा जिल्ला स्तरीय खेलकुद प्रतियोगिताले झापामा नयाँ खेल प्रतिभा पहिचान र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।
१६ औँ राष्ट्रपति रनिङ शिल्ड झापा जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा छनौट भएका विद्यार्थी खेलाडीले प्रदेश र प्रदेशबाट छनौट भएका विद्यार्थीले १६ औँ राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने उनको भनाई छ।




















