बिर्तामोड। झापाको अर्जुनधारा नगरपालिका–६ मा रहेको हिमाली एजुकेशन फाउण्डेशन सेकेण्डरी स्कूल प्रालिको १९ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
विद्यालयका संस्थापक अध्यक्ष खड्गराज गिरीको अध्यक्षता तथा अर्जुनधारा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिवहादुर कुँवरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयकी प्रिन्सिपल शान्ता गिरीले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा नर्सरी, युकेजीसहितका कक्षा ९ सम्म अध्ययनरत् विद्यार्थीले गायन, भाषण, कविता, नृत्यसहित वतृत्वकला प्रस्तुत गरेका थिए।
सोही कार्यक्रमका अवसरमा वर्ष उत्कृष्ट शिक्षकका रुपमा शिक्षक मलिना शेर्मालाई नगदसहित सम्मान गरिएको थियो भने स्टुडेन्ट अफ दि इयर्स मनिष बुढाथोकीलाई घोषणा गरि पुरस्कृत गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि कुँवर र अर्जुनधारा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हरिशचन्द्र बास्तोलाले विद्यालयले गरेको कार्यको प्रशंसा गरेका थिए ।विद्यालयमा हाल कक्षा-९ सम्म पठनपाठन भइरहेको र क्रमश: कक्षा वृद्धि गर्दै लगिएको संस्थापक अध्यक्ष खड्गराज गिरीले जानकारी दिए । कक्षा ९ सम्म अध्यापन हुने सो विद्यालयमा आगामी शैक्षिक सत्रबाट कक्षा १० सम्म अध्यापन गराइने उनले बताए ।
विद्यालयमा हाल तीन सय ८० जना विद्यार्थी रहेको र ३५ जना शिक्षक तथा कर्मचारीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उनले जानकारी दिए ।
कार्यक्रमको सञ्चालन शिक्षक बासुदेव बराल र विद्यार्थीहरू मनिष बुढाथोकी, अवशेष न्यौपाने र परिधि चौहानले गरेका थिए ।




















