बिर्तामोड। झापाको अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित श्री शङ्काचार्यपीठ वेदवेदाङ्ग संस्कृत पाठशाला तथा सिद्देश्वरी कामदा गौशालाको आयोजनामा माघ १ गतेदेखि ११ गतेसम्म श्रीब्रहाण्ड महापुराण प्रवचनात्मक सत्सङ्गीय अनुष्ठान हुने भएको छ।
शंकराचार्यपीठ स्थापनाको ५० औं बार्षिकोत्सवको अवसर पारेर माघ १ गतेदेखि ११ गतेसम्म श्रीब्रहाण्ड महापुराण प्रवचनात्मक सत्सङ्गीय अनुष्ठानको आयोजना गरिएको श्री शंकराचार्यपीठका व्यासाचार्य आचार्य लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए ।
स्वधर्म जागरण ,आध्यात्म प्रचार , दैनिक रु. १ दान ११ करोडको अक्षयकोष स्थापना महाअभियान सफल , एक विद्यार्थी एक अभिभावक लक्ष प्राप्ति, कामदा गौशाला अक्षयकोष बृद्धि , गुरुकुल संरक्षण , गुरुकूल अध्ययनरत् बटुकहरुका लागि लगाउने र खानाको व्यवस्था, गौशाला सुदृढ व्यवस्थापनका लागि पुनर्निर्माण, नियमित गौआहारको व्यवस्था र संस्थाको सर्वाङ्गिण विकासको उद्देश्यले अनुष्ठानको आयोजना गरिएको उनले बताए ।
माघ १ गते शोभायात्रा, २ गते नवनिर्मित गौशालाको समुद्घाटन, पूर्वाङ्गपूजन, माघ ३ गतेदेखि १० गतेसम्म नियमित कार्य सञ्चालन , १० गते श्रंगार आरती, विशेष दीपमालिका र ११ गते तिलकपाती , प्रसाद बितरणसहित समापन गरिने कार्यक्रम रहेको संस्थाका बरिष्ठ उपाध्यक्ष पंडित शान्तीराम नेपालले जानकारी दिए ।
अनुष्ठानको प्रमुख कथा बाचकका रुपमा आचार्य डिल्लीराम गौतम र उपव्यासको रूपमा पंडित सोमनाथ खतिवडा रहने उनले बताए ।
अनुष्ठानको उद्घाटन प्रमुख अतिथी अर्जुनधारा जलेश्वरधामका अध्यक्ष नविन गट्टानीले गर्ने बताउँदै शंकराचार्यपीठका व्यासाचार्य आचार्य लक्ष्मीप्रसाद खतिवडाले दातासहित सम्पूर्ण धर्मावलम्बीलाई उपस्थित भएर पुण्यको भागी बन्न आग्रह गरेका छन् ।




















