बिर्तामोडझापाको अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित श्री शङ्काचार्यपीठ वेदवेदाङ्ग संस्कृत पाठशाला तथा सिद्देश्वरी कामदा गौशालाको आयोजनामा श्री ब्रह्माण्ड महापुराण प्रवचनात्मक सत्सङ्गीय अनुष्ठान शुरु भएको छ।
   श्री शंकराचार्यपीठका व्यासाचार्य आचार्य  लक्ष्मीप्रसाद खतिवडाको अध्यक्षता तथा अर्जुनधारा  जलेश्वरधामका अध्यक्ष नविन गट्टानीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम शंकराचार्यपीठका उपाध्यक्ष मदन ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए।  

कार्यक्रममा ५० औं बार्षिकोत्सवको अवसरमा ५० वटा दीप प्रज्वलन गरी अनुष्ठानको उद्घाटन गरिएको थियो।
कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै श्री शंकराचार्यपीठका व्यासाचार्य आचार्य  लक्ष्मीप्रसाद खतिवडाले शंकराचार्यपीठ साधुटारको  स्थापनाको ५० औं बार्षिकोत्सवको अवसर पारेर माघ १ गतेदेखि ११ गतेसम्म श्री ब्रह्माण्ड महापुराण प्रवचनात्मक सत्सङ्गीय अनुष्ठानको आयोजना गरिएको बताए।
  स्वधर्म जागरण ,आध्यात्म प्रचार , दैनिक रु. १ दान ११ करोडको अक्षयकोष स्थापना महाअभियान सफल , एक विद्यार्थी एक अभिभावक लक्ष प्राप्ति, कामदा गौशाला अक्षयकोष बृद्धि , गुरुकुल संरक्षण ,  गुरुकूल अध्ययनरत् बटुकहरुका लागि लगाउने र खानाको व्यवस्था, गौशाला सुदृढ व्यवस्थापनका लागि पुनर्निर्माण, नियमित गौआहारको व्यवस्था र संस्थाको सर्वाङ्गिण विकासको उद्देश्यले अनुष्ठानको आयोजना गरिएको उनले बताए ।
संस्थाका बरिष्ठ उपाध्यक्ष पंडित शान्तीराम नेपालले  माघ १ गते शोभायात्रा, २ गते नवनिर्मित गौशालाको समुद्घाटन, पूर्वाङ्गपूजन सम्पन्न गरिएको बताउँदै  माघ ३ गतेदेखि १० गतेसम्म नियमित कार्य सञ्चालन , १० गते श्रंगार आरती, विशेष दीपमालिका र ११ गते तिलकपाती , प्रसाद बितरणसहित समापन गरिने कार्यक्रम रहेको  जानकारी दिए ।
 अनुष्ठानको  प्रमुख कथा बाचकका रुपमा पं. श्री डिल्लीराम गौतमले कथावाचन र उपव्यास पं. श्री सोमनाथ खतिवडाले पाठपारायण गरिरहेको उनले बताए ।
  उनले शंकराचार्यपीठका दातासहित सम्पूर्ण धर्मावलम्बीलाई उपस्थित भएर कथा श्रवण गरी पुण्यको भागी बन्न आग्रह गरेका छन् ।
   यसैबीच शिद्देश्वरी कामदा गौशालाको समुद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिधी गट्टानी र  अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देनलगायतले शिद्देश्वरी कामदा गौशालाको समुद्घाटन गरेका थिए। 
 उद्घाटनको अवसरमा शिद्देश्वरी   कामदा गौशालामा  शिवसताक्षी ११ मा रहेको श्रीगोलोक गोवर्धन गौशालाले  एउटा  गाई र एउटा साँढे (नन्दी ) प्रदान गरेको थियो । उक्त गाई र एउटा साँढे (नन्दी ) श्रीगोलोक गोवर्धन गौशालाका प्राचार्य मनमोहन अधिकारीले श्री शंकराचार्यपीठका व्यासाचार्य आचार्य  लक्ष्मीप्रसाद खतिवडालाई हस्तान्तरण गरेका थिए।

कोशी  प्रदेश सरकारको सहयोग र भक्तजनको सहयोगमा निर्माण गरिएको गौशालामा हाल २० वटा गाईबाच्छा अटाउने श्री शंकराचार्यपीठका व्यासाचार्य आचार्य  लक्ष्मीप्रसाद खतिवडाले बताए। 
कार्यक्रममा प्रमुख अतिथि गट्टानी, अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन, अर्जुनधारा १ का वडाध्यक्ष उपेन्द्र बस्नेत,  त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा भाषा विज्ञान केन्द्रीय विभाग प्रमुख डा. कर्णाखर खतिवडा , किराँत याक्थुङ चुम्लुङ अर्जुनधारा १ का अध्यक्ष विजेन्द्र एक्तेनलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन संस्थाका बरिष्ठ उपाध्यक्ष पंडित शान्तीराम नेपालले गरेका थिए।