बिर्तामोड । झापाको कनकाई नगरपालिका ८ लक्ष्मीपुरमा रहेको पाथीभरा एकेडेमीका सञ्चालक रवी पोद्दारले विद्यालयमा अध्ययनरत बालबालिकाको भविष्यसँग खेलबाड नगर्न आग्रह गरेका छन् । उनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै तथा पत्रकार सम्मेलन गर्दै यस्तो आग्रह गरेका हुन् ।
२०६४ सालमा पाथीभरा एकाडेमीको स्थापना भए पनि आफू र अर्का सञ्चालक बिनोद पोखरेलले २०७५ सालमा विद्यालय खरिद गरी नयाँ व्यवस्थापनमा सञ्चालनमा ल्याएको बताउँदै उनले सञ्चालक पोखरेलसँग भएको आन्तरिक विवादका कारण समय व्यवस्थापन तथा भौतिक सुरक्षासँग सम्बन्धित विषयमा गम्भीर समस्या उत्पन्न भएको जनाए ।
विद्यालयभित्र देखिएको आन्तरिक विवाद, प्रशासनिक अव्यवस्था र संरचनागत जोखिमका कारण बालबालिकाको शिक्षा, सुरक्षा र भविष्य प्रत्यक्ष रूपमा जोखिममा परेको बताउँदै उनले कनकाई नगरपालिका–८, लक्ष्मीपुरस्थित पाथीभरा एकेडेमी झापा प्रालिमा आफ्नो ५० प्रतिशत शेयर रहेकाले बालबालिकाको शिक्षा, सुरक्षा र भविष्य जोखिममा पारेर कुनै पनि हालतमा विद्यालय सञ्चालन स्वीकार्य हुन नसक्ने जनाए ।
विद्यालय सञ्चालनसम्बन्धी विषयमा अर्का सञ्चालक पोखरेलसँग उत्पन्न विवाद समाधानका लागि पटक–पटक संवाद, मौखिक ताकेता तथा लिखित निवेदन दिए पनि हालसम्म कुनै सकारात्मक पहल नभएकाले अहिले विद्यालयको शैक्षिक, प्रशासनिक र भौतिक व्यवस्थापन दिनप्रतिदिन अस्तव्यस्त बन्दै गएको र त्यसकोे प्रत्यक्ष असर विद्यार्थीको वर्तमान र भविष्यमा पर्न सक्ने भएकाले यसको तत्काल समाधान गर्न सरोकारवाला निकायसँग उनले आग्रह गरे ।
पाथीभरा एकेडेमी सञ्चालन भइरहेको भवन तथा जग्गा आफ्नो निजी स्वामित्वमा रहेको र उक्त भवन हाल जिर्ण अवस्थामा पुगिसकेको हुँदा त्यहाँ विद्यालय सञ्चालन गर्दा भविष्यमा हुन सक्ने कुनै पनि दुर्घटनाको जिम्मेवारी आफू लिन नसक्ने बताउँदै सञ्चालक पोद्दारले विद्यालयमा यदि कुनै अप्रिय घटना घटेमा त्यसको सम्पूर्ण नैतिक तथा कानूनी जिम्मेवारी सम्बन्धित निकाय र लापरवाही गर्ने पक्षले लिनुपर्ने जनाए ।
पाथीभरा एकेडेमीमा विगत केही वर्षदेखि विद्यालयको नियमित लेखापरीक्षण नहुनु, कम्पनी अद्यावधिक नगरिनु, विद्यालय व्यवस्थापन समिति तथा सञ्चालक समितिका बैठकहरू नबस्नु जस्ता कारणले विद्यालय जुनसुकै बेला बन्द हुने जोखिमपूर्ण अवस्थामा पुगेको बताउँदै उनले यस्तो अनिश्चित र अव्यवस्थित परिस्थितिमा विद्यालयले नयाँ भर्ना खुला राख्नु भनेको बालबालिकाको भविष्यसँग प्रत्यक्ष खेलवाड गर्नु भएकाले त्यसो नगर्न उनले सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।
आफूले यसअघि विद्यालयको अवस्थाबारे कनकाई नगरपालिकासहित सम्वन्धित निकायलाई विद्यालय सञ्चालन भइरहेको भवनको तत्काल प्राविधिक परीक्षण गरियोस्, विद्यालय सञ्चालन गर्न मिल्ने वा नमिल्ने विषयमा यथाशीघ्र स्पष्ट निर्णय होस्, घरबहाल, वित्तीय पारदर्शिता तथा विद्यालयको कानुनी हैसियतबारे स्पष्ट निर्देशन दिइयोस्, आवश्यक परे बालबालिकाको शैक्षिक भविष्य सुरक्षित हुने वैकल्पिक व्यवस्था तुरुन्त लागू गरियोस् भन्ने माग अघि सारेको भए पनि हालसम्म त्यसको सुनुवाई नभएको जानकारी दिए ।
आफ्नो कुनै व्यक्तिगत विवाद नभई बालबालिकाको शिक्षा र सुरक्षासँग प्रत्यक्ष जोडिएको गम्भीर सार्वजनिक सरोकारको विषय भएकाले विद्यालयमा देखिएको यस विवादका विषयमा मैले पटक–पटक स्थानीय सरकार कनकाई नगरपालिका, शिक्षा शाखा, वडा नं. ८ को कार्यालय, पाथीभरा एकेडेमी झापा प्रा.लि.को सञ्चालक समिति तथा शिक्षा विकास तथा समन्वय इकाई चन्द्रगढी, झापालाई लिखित रूपमा जानकारी गराइसकेको भए पनि हालसम्म सुनुवाइ नभएपछि बाध्य भएर विज्ञप्ति जारी गरेको उनले बताए ।
उनले पाथीभरा एकाडेमीका विद्यार्थीहरुको भविष्य सुनिश्चितताका लागि तत्काल देखिएको समस्यान समस्या समाधान गर्न सबैलाई आग्रह गरेका छन् ।




















