बिर्तामोड। झापाको अर्जुनधारा –१ श्रीशङ्कराचार्यपीठ साधुटारमा शुरू भएको तीन दिने अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव  सम्पन्न भएको छ ।
  कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सन्दर्भ पारेर पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको संरक्षकत्व तथा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल पर्यटन बोर्डको सहकार्यमा महोत्सव भएको हो ।        श्रीशङ्कराचार्यपीठ साधुटारका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाको अध्यक्षतामा  भएको महोत्सवको पहिलो दिन फागुन २८ गते जुनियर अनुप जलोटा रमेश प्रजापतिसहित नेपाल तथा भारतका स्रष्टाहरूलाई स्वागत गरिएको थियो ।   श्रीशङ्कराचार्यपीठ साधुटारका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाको अध्यक्षतामा  भएको महोत्सवको दोस्रो दिन फागुन २९ गते बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म झापाका विभिन्न गुरुकुलमा अध्ययनरत् ८० जना भन्दावढी विद्यार्थीहरूलाई  प्रा.डा. देवी नेपालले  छन्द तथा गद्य कविता लेखन प्रशिक्षण दिएका थिए भने   शंकराचार्य परम्परा सम्बन्धी विद्वत सभा समेत गरिएको थियो।

सोही कार्यक्रमकाबिच साहित्यकार खगेन्द्रा खुशीको कृति खुशीको गाउँ माथी बिचार विमर्श प्रस्तुत गरिएको थियो भने प्रकृति र प्रज्ञा सम्वाद विषयक प्यानल डिस्कसन कार्यक्रम गरिएको थियो।
साहित्यकार लीला अनमोलको सहजीकरणमा भएको कार्यक्रममा वक्ताको रूपमा साहित्यकार मनु मञ्जिल र कुमार भट्टराई रहेका थिए।
सोही दिन साँझ ६ः३० देखि १० बजेसम्म अन्तर्राष्ट्रिय भजन गायक जुनियर अनुप जलोटा रमेश प्रजापतिले भजन प्रस्तुत गरेका थिए भने विभिन्न साहित्यकारहरूले साहित्यिक तथा हास्यव्यङ्य कार्यक्रम प्रस्तुत गरेका थिए।
कार्यक्रम संयोजक  डा. गोपीकृष्ण खतिवडाले स्वागत गरेको  कार्यक्रमको सञ्चालन साहित्यकार लीला अनमोलले गरेकी थिईन्।
    फागुन ३० गते पहिलो सत्रको कार्यक्रममा डा. दीपकप्रसाद  न्यौपानेले समसामयिक नेपाली कविताका प्रवृत्ति विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त कार्यपत्रको टिप्पणी साहित्यकार शिव रेग्मी प्रणतले गरेका थिए।

त्यस्तै  हिमाल साहित्य र पर्यटन सन्दर्भमा कोशी प्रदेश विषयक कार्यपत्र डा. महेश पौड्यालले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा डा. कर्णाखर खतिवडाले आरोग्य पर्यटन सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने प्रा.डा. देवी नेपालले  नेपाली माटोमा छन्दशास्त्रको प्रयोगसम्वन्धी  प्रवचन दिएका थिए।
कार्यक्रममा कविहरु अजम प्रधान, शुकराज दियाली, रोमनाथ ढुङ्गेल, चिरञ्जीवी काफ्ले, अजय खड्कालगायतले कविता वाचन गरेका थिए। कार्यक्रमको सहजीकरण साहित्यकार विवशवलिभद्र कोइरालाले गरेका थिए।
त्यस्तै समापन कार्यक्रम श्री शङ्कराचार्यपीठ साधुटारका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाको अध्यक्षता  तथा कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री भीमप्रसाद पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक डा. गोपीकृष्ण खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा  हास्यव्यङ्यकार पिनाकीप्रसाद कोइरालाले हास्यव्यङ्य प्रस्तुत गरेको कार्यक्रममा भारतीय नेपाली साहित्यकारहरु भवानी अधिकारी तथा विनोद खनाललाई सम्मान पत्र तथा खादा ओडाएर सम्मान गरिएको थियो भने भूवन लुईंटेल तथा शोभा कोइरालालाई खादा ओडाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा साहित्यकार मनु मञ्जिल, कुमार भट्टराई , मुनाराज सेर्माले  मन्तव्य तथा कविता प्रस्तुत गरेका थिए।
कार्यक्रममा श्रीशङ्कराचार्यपीठ साधुटारका संस्थापक लक्ष्मीप्रसाद खतिवडाले साधुटार क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा चिनाउने, पूर्वीय दर्शन, वेद र उपनिषदमा आधारित साहित्यिक विमर्शमार्फत बौद्धिक पर्यटनको विकास गर्ने तथा नेपाल–भारतका विद्वान, सन्त, महन्त र साहित्यकारबीच वैचारिक तथा सांस्कृतिक आदान–प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । उनले महोत्सवले कोशी प्रदेश सरकारले घोषणा गरेको ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ लाई प्रवर्द्धन गर्नुका साथै साधुटार क्षेत्रलाई धार्मिक तथा साहित्यिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुगेको बताए। महोत्सव अवधिभर बिहान ४ देखि ६ बजेसम्म त्रिदिवसीय पतञ्जली योग शिविर सञ्चालन गरिएको तथा साधुटारको गुरुकुलमा  दैनिक रूपमा हुने नित्य वैदिक कर्ममा समेत अतिथिहरूलाई सहभागिता गराएको श्रीशङ्कराचार्यपीठ साधुटारका वरिष्ठ उपाध्यक्ष पंडित शान्तीराम नेपालले जानकारी दिए। महोत्सव अवधिभर पठन संस्कृतिको विकासका लागि ईशा बुक्स एण्ड स्टेशनरीको सहयोगमा पुस्तक प्रदर्शनीसमेत गरिएको उनले बताए।
कार्यक्रमको सञ्चालन साहित्यकार लीला अनमोलले गरेकी थिईन्।